नेपाली कांग्रेसको आगामी महाधिवेशन विवादबारे धारणा तय गर्न नेता शेखर कोइरालाको समूहले आज बिहान छलफल गरेको छ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारले विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यायलयमा बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म छलफल गरिएको जानकारी दिए।
पार्टीभित्र जारी महाधिवेशन विवादबारे समूहका सदस्यहरूको सुझाव लिन छलफल आयोजना गरिएको उनले बताए।
यद्यपि यस विषयमा कुनै निष्कर्षमा पुगिनसकेको सहमहामन्त्री परियारको भनाइ छ।
‘महामन्त्रीहरूले त विशेष महाधिवेशन आह्वान गर्नुभएको छ नि? त्यो विषयमा के निर्णय भयो?’
‘यो विषयलाई के कसरी लिएर जाने भन्ने विषयमा त पार्टीमा छलफल गर्नुपर्यो नि! उहाँहरू (गगन थापा र विश्वप्रकाश शर्मा) ले पनि सोच्नुपर्यो- के गर्ने, कसो गर्ने? उहाँहरूले भन्नु पनि भएको थियो- पार्टीले नै निर्णय गर्नुपर्यो भनेर’, परियारले नेपालखबरसँग भने, ‘त्यस विषयमा त कार्यवाहक सभापतिले पनि कसरी सेटल गर्ने भनेर धारणा बनाउनुहोला नि त।’
यसका साथै नजिकिँदै गरेको प्रतिनिधि सभा निर्वाचन तथा पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीलगायत समसामयिक विषयमा पनि छलफल गरिएको उनले बताए।
हिजो मात्र कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बहुमतका आधारमा १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित गरेको छ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने त्यसमा असहमति जनाएका थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पुसभित्रै विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।
महाधिवेशनको कार्यतालिका पारित गरिएको भए पनि विधानअनुसार नै विशेष महाधिवेशन गरिने उनको दाबी छ।
Shares

प्रतिक्रिया