कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छन्।
सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरूले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको प्रष्ट्याएकी हुन्।
मन्त्री गौतमले सांसदहरूले विषय केन्द्रित भएर छलफल गरेमात्रै सरकार त्यसको जवाफ दिन बाध्य हुने समेत बताइन्।
सरकार सांसदहरूले उठाएका हरेक विषयवस्तुमा संवेदनशील रहेको मन्त्री गौतमको भनाई थियो। उनले सरकारबाट स्पष्ट जवाफको अपेक्षा गर्न पनि सांसदहरूले विषयवस्तु केन्द्रित भएर छलफल गर्न आवश्यक रहेको तथ्य पनि स्मरण गराइन्।
उनले भनिन्, ‘हामी एजेण्डा केन्द्रित भएर परपर्ली आयौँ भने, तयारीका साथ आउँदाखेरि सरकारले पनि यसमा के हो भनेर सरकारले पनि पोजिशन तयार गरेर तपाईंहरूको प्रश्नको जवाफ सरकारले स्पष्टसँग लिएर आउन सक्छ। त्यसकारण मैले एजेण्डा केन्द्रित भएर छलफल गर्न माननीय सदस्यज्युहरुलाई आग्रह गरेँ। अर्को समय व्यवस्थापनमा काम गर्न सकिएन भने जस्तो संसदको बैठकलाई नै हेरौँ । संसदमा हरेक माननीय सदस्यहरुलाई बोल्नका लागि समय छुट्टयाइएको हुन्छ। तर समिति चाहीँ त्यसरी बोल्ने अभ्यास हामीले गरिरहेका छैनौँ।’
मन्त्री गौतमले संसद र संसदीय समितिको कामलाई प्रभावकारी बनाउनका लागि सांसदहरूले समयसीमालाई पनि ख्याल गर्न जरुरी रहेको बताइन्।
Shares

प्रतिक्रिया