राजनीति


संसद ‘बंक’ गरेर बालेन कहाँ हराए त्यो ४५ मिनेट

संसद ‘बंक’ गरेर बालेन कहाँ हराए त्यो ४५ मिनेट

सागर न्यौपाने
बैशाख २९, २०८३ मंगलबार १९:४६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै बैठक छोडेर बाहिरिएको घटनाले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। विपक्षी दलका नेता र सांसद मात्र होइन संविधानका जानकारले समेत प्रधानमन्त्रीले उक्त कदम अशोभनीय रहेको टिप्पणी गरेका छन्।

आफ्नै सरकारले ल्याएको आगामी वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम पूरै नसुनी प्रधानमन्त्री ४५ मिनेटजति समय हराएका थिए। 

कानुन एवं कूटनीतिक मामिलाका जानकार नीलाम्बर आचार्य प्रधानमन्त्रीले देखाएको यसखालको व्यवहारलाई अकल्पनीय र संसदीय पद्धतिमाथिको उपहास भन्छन्।

संसदीय प्रणालीमा राष्ट्रपतिले सरकारको नीति वाचन गर्नु भनेको राज्यको मार्गचित्र प्रस्तुत गर्नु हो, जसमा सरकार प्रमुखको पूर्ण उपस्थिति र सम्मान अनिवार्य मानिएको उनी बताउँछन्। प्रधानमन्त्रीको व्यवहारले शिष्टाचारको न्यूनतम सीमासमेत उल्लंघन गरेको उनको भनाइ छ।

‘प्रधानमन्त्रीको आपत्तिजनक र गलत शैली भयो,’ उनले नेपालखबरसँग भने, ‘हाम्रो संसदले यस्तो कार्य स्वीकार गर्दैन।’ 

आफैँले ल्याएको सरकारको वार्षिक कार्यक्रममा बोलाइएका मुख्य अतिथि नजाँदै आफू हिँड्न नमिल्ने उनको भनाइ छ।

‘संविधानले यस्ता कुरा लेख्दैन। सामान्य शिष्टाचार र सदाचार हुन्छ भन्ने ठान्छ,’ उनले थपे, ‘हाम्रो प्रधानमन्त्रीले संसदीय अभ्यासलाई सम्मान नगरेको हिजोको व्यवहारले फेरि पुष्टि गर्‍यो। यो त कताकता प्रतिशोध जस्तो देखिन्छ।’

प्रधानमन्त्रीको व्यवहारको विषय मंगलबारको संसद् बैठकमा प्रवेश गरेको छ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले मर्यादापालनमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरे। त्यसो नहुँदा संसद्को गरिमा नरहने उनले बताए। 

‘हिजोको जे गतिविधि देखियो, प्रधानमन्त्रीजीले केही निश्चित मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन,’ उनले संसद् बैठकमा भने, ‘हाम्रो भू–राजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्दछ। संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामी अघि जान सक्छौँ।’ 

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले पनि सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा उठेर हिँड्ने घटनाले सिङ्गो देश र संसद्को इज्जतमाथि दाग लागेको बताए।

‘प्रधानमन्त्रीले अहंकार र अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो, उहाँको व्यवहारले जनताको मन कुँडिएको छ। देशको शीर झुकेको छ,’ उनले भने, ‘यो सदनको गरिमा र इज्जतमा दाग लागेको अनुभूति हामीलाई भएको छ।’ 

झण्डै दुई तिहाइ जनमत लिएर शक्तिशाली प्रधानमन्त्री बनेका बालेन्द्र शाहले सोमबारको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेल समक्ष बुझाएका थिए। ५५ मिनेटसम्म सुनेर बसेका उनी त्यसपछि बाहिरिएका थिए।
त्यसपछि प्रधानमन्त्री एकैपटक दोस्रो बैठकमा मात्र उपस्थित भए। 

‘संसदलाई सम्मान नगर्ने, संसदीय परम्परा नमान्ने व्यवहारले शक्ति पृथकीकरणमा असर पर्छ। संसदको भूमिकामा असर पर्दछ,’ आचार्य भन्छन्, ‘काम गलत भइरहेका छन्। यसबारे रास्वपाले तत्काल समीक्षा गरेर सच्याउनुपर्छ। उहाँसँग ५ वर्षको समय छ। कहीँ त्रुटि भयो भने स्वीकार गर्दै, सच्याउँदै अगाडि नबढे समस्या पर्छ।’

कहाँ थिए प्रधानमन्त्री बालेन?
प्रधानमन्त्रीको सुरक्षा हेर्ने एक अधिकारीका अनुसार संसद् बैठकबाट निस्किएर उनी सरासर संसद् भवनभित्रको आफ्नै च्याम्बरमा पुगेका थिए। 

प्रधानमन्त्री संसद् भवनबाट आकस्मिक रूपमा बाहिरिँदा एडीसी र पीएसओ अलमलमा परेका थिए। प्रधानमन्त्री भेट्न उनीहरू दौडिनु परेको थियो। 

‘प्रधानमन्त्रीज्यू आकस्मिक रूपमा संसदबाट बाहिरिएपछि कता जान लाग्नुभएको पत्तै थिएन,’ ती अधिकारीले नेपालखबरसँग भने, ‘पछि थाहा भयो, उहाँ संसद् भवनको कार्यकक्षतिर लाग्नुभयो। त्यहाँ उहाँले करिब ४५ मिनेटजति बिताउनुभयो। कार्यकक्ष प्रवेश गरेपछि के गर्नुभयो जानकारी भएन।’

यसबारेमा प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले स्वास्थ्यका कारण शाह निस्किएको प्रष्टीकरण दिँदै सामाजिक सञ्जालमा लेखेको स्टाटस तत्काल हटाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad