राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असारमा गर्ने पहिलो महाधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताइसकेको छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह, उपसभापतिमा स्वर्णिम वाग्ले र महामन्त्रीमा भूपदेव शाहलाई दोहोर्याउने निश्चित भएको नेताहरूले बताएका छन्।
त्यसबाहेक एक महिलासहित २ उपसभापति र ३ सहमहामन्त्री पदमा आकांक्षी नेताहरूले आन्तरिक लबिइङ गरिरहेका छन्।
नेताहरूका अनुसार २ उपसभापतिमा इन्दिरा राना मगर र प्रतिभा रावलको नाम चर्चामा छ। यस्तै, कोषाध्यक्ष रहेकी लीमा अधिकारीले फेरि सोही पदमा नबस्ने र राजनीतिक पद लिन चाहेको निकटसँग बताएकी छन्। उनको रुचि पनि उपसभापतिमा छ।
चुनावताका एकता प्रक्रियामा आएका विवेकशील साझा र बालेन्द्र शाह समूहमध्ये कुनै एक समूहका नेतालाई एउटा उपसभापति पद दिइने सम्भावना पनि छ।
त्यसो त पदाधिकारी हुनको लागि केन्द्रीय सदस्य निर्वाचित हुनुपर्छ। रास्वपाले ९९ देखि १५१ सम्मको केन्द्रीय समिति बनाउने तयारी गरेको छ।
‘साझा पार्टी बनाएर जाने हो,’ एक पदाधिकारीले नेपालखबरसँग भने।
महामन्त्री कबिन्द्र बुर्लाकोटी उपसभापतिका एक दाबेदार हुन्। यद्यपि, समझदारी अनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने नेताहरू बताउँछन्।
रास्वपामा बुर्लाकोटी र अर्काे भुपदेव शाहगरी दुई जना महामन्त्री छन्। आफूसहित अधिकांश पदाधिकारी दोहोरिने शाहले बताए।
बुर्लाकोटीको बढुवा गर्ने कि पुरानै जिम्मेवारी दिने भन्ने विषय टुंगो लागेको छैन। यदि उनी उपसभापति भए भने रिक्त हुने एक महामन्त्री पदमा कम्तीमा चार जना दाबेदार देखिएका छन्।
प्रवक्ता मनिष झा, सचिवालय सदस्य दीपक बोहरा र सोविता गौतमले पनि दाबेदार हुन्। वर्तमान सहमहामन्त्री विपिन आचार्यले पनि बढुवा हुन चाहेका छन्।
विधानमा ४ जना सहमहामन्त्री हुने व्यवस्था छ। तर, हाल विपिन आचार्य मात्र छन्। बाँकी ३ पद खाली छ। यसमा संसदीय जिम्मेवारीमा नभएका, एकता प्रक्रियाबाट आएका नेता ल्याउने सम्भावना रहेको नेताहरूको भनाइ छ।
बागमतीको वर्चस्व तोड्नुपर्ने बाध्यता
आकांक्षीहरूको प्रतिस्पर्धाका माझ पार्टीलाई संविधानअनुसार समावेशी बनाउनुपर्ने र क्लस्टर मिलाउनुपर्ने चुनौती नेतृत्वसामु छ। हाल रास्वपाको केन्द्रीय समितिदेखि पदाधिकारीसम्ममा बागमती प्रदेशको अत्यधिक दबदबा छ।
‘अहिले भएका पदाधिकारी समावेशी छैनन् र क्लस्टर पनि मिलाइएको छैन,’ ती पदाधिकारीले भने, ‘केन्द्रीय समितिदेखि पदाधिकारीसम्म बागमती प्रदेशको वर्चस्व छ। अब महाधिवेशनमा यसलाई करेक्सन गर्नुपर्ने भएकाले कतिपय पदाधिकारी फेरबदल हुनेछन्।
रोचक त, कतिपय स्थापित केन्द्रीय नेता र बहालवाला सांसदहरू नै यसपटक केन्द्रीय पदाधिकारीभन्दा प्रदेश र जिल्लाको नेतृत्व लिन लालायित देखिएका छन्।
रास्वपाले अहिले केही सांसदलाई जिल्ला र प्रदेशको जिम्मेवारी दिएको छ।
‘अधिकांशको रुचि प्रदेश र जिल्लामा छ। प्रदेश सभापति, महामन्त्री हुन खोज्नुभएको बताउन थाल्नुभएको छ, कतिपय सांसद त जिल्ला सभापतिमै बस्ने बताउनुहुन्छ,’ पार्टीभित्रको आन्तरिक अवस्था नियालिरहेका उनले भने।
रास्वपाभित्र दोहोरो जिम्मेवारी दिने कि नदिने भन्ने विषयमा पनि छलफल भइरहेको छ। सांसद र मन्त्री भएकालाई पार्टीकोे जिम्मेवारी नदिन एकथरीले सुझाव दिएका छन्।
‘प्रधानमन्त्री बालेनलाई पदको खास लोभ देखिएको छैन, पदमा मतलब गर्ने मान्छे नै होइन उहाँ,’ उनीनिकट एक नेताले भने, ‘पार्टीमा कहीँ न कहीँ राख्नैपर्ने भएकोले वरिष्ठ नेताका रुपमा रहनुहुन्छ। नत्र उहाँले रहर गर्नुभएको छैन।’
Shares

प्रतिक्रिया