श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको सीमा समस्याको विषयमा संसद्मा दिएको अभिव्यक्तिलाई राष्ट्रघाती बदनियत भन्दै बिरोध गरेका छन्।
सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै उनले संसद्मा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि धरै ठाउँमा मिचेको भनेर दिएको अभिव्यक्तिले शाहको राष्ट्रघाती बदनियतलाई प्रष्ट पारेको आरोप लगाएका हुन्।
‘पूर्व तालिका बिना संसद् बैठकमा आएर रास्वपाका सभापति भारत जानुअघि भारतलाई रिझाउन हो या किन हो, कहिल्यै नआउने र नबोलने प्रधानमन्त्री सदनमा आएर रोस्टममा उभिएर ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुले हाम्रो सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने, नेपालले धेरै ठाउँमा भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ। प्रधानमन्त्रीको पदले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्ने बारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ।’
प्रधानमन्त्री बालेनले नेपाली सेनालाई मन्त्रीको ढोका खोल्न र आफ्नै गरिब जनताका बस्ती, सुकुम्बासी बस्तीमा हमला गर्नमै सिमित राख्दै आएको आरोप पनि उनले लगाएका छन्।
‘नेपाली सेनालाई मन्त्रीको ढोका खोल्न र आफ्नै गरिब जनताका बस्ती सुकुम्बासी बस्तीमा हमला गर्नमै सिमित राख्दै आएको नेपाल सरकारले सीमानामा सेनालाई चियाउन समेत नपठाउनु बरु उल्टै नेपालले भारतको सीमा धेरै ठाउँमा मिचेको भन्नुले हाम्रो सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रधानमन्त्री र यो सरकार प्रतिवद्ध नरहेकोप्रति श्रम संस्कृति पार्टी र तमान नेपाली जनता घोर आपत्तिसहित विरोध व्यक्त गर्दछ,’ साम्पाङको विज्ञप्तिमा भनिएको छ।

Shares

प्रतिक्रिया