आज सोमबार पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया र तराईको आकाशमा आंशिक बादल लाग्नेछ।
यस क्रममा दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, सुदूरपश्चिम प्रदेशको तराईसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि यी प्रदेशका पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ।
मौसम महाशाखाका अनुसार राति देशका हिमाली क्षेत्रमा साधारणतया र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने छ। अनि सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि यी प्रदेशका पहाडी-हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
काठमाडौँमा पनि वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोपछि अर्थात् अपराह्न वा साँझपख पानी पर्ने सम्भावना छ।
‘त्यस्तो लामो समय वा ठुलो वर्षाको सम्भावना छैन’, उनले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘छोटो समय हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।’
उनका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत देखिएको छ।
पानी पार्ने एउटा प्रणाली हट्यो
नेपालमा पानी पार्ने एउटा प्रणाली हटेको छ।
मौसम महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको मात्र प्रभाव छ।
आइतबार यी दुई प्रणालीका साथै पश्चिमदेखि पूर्वसम्म अर्को न्यूनचापीय रेखा पनि थियो।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया