राजनीति


जम्मु कस्मिरका जनतालाई आत्मनिर्णयको अधिकार देउः मसाल

जम्मु कस्मिरका जनतालाई आत्मनिर्णयको अधिकार देउः मसाल

नेपालखबर
साउन २१, २०७६ मंगलबार ९:२४,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले जम्मु कस्मिरमा भारतीय साम्राज्यवादले स्वेच्छाचारी नीति अपनाएको भन्दै कडा शब्दमा विरोध गरेको छ।

भारत सरकारले जम्मु कस्मिरका जनताको अधिकार खोसेर आफ्नो साम्रज्यवादी चरित्रलाई नाङ्गो रुपमा प्रकट गरेको मसालले ठहर गरेको छ। महामन्त्री मोहनविक्रम सिंहले मंगलबार प्रेसित गरेको वक्तव्यमा त्यहाँका जनतालाई जनमत संग्रहमार्फत भारतमा मिल्ने वा पाकिस्तानमा मिल्ने अथवा स्वतन्त्र रुपमा अलग्गै राज्य बनाउने आत्मनिर्णयको अधिकार दिन माग गरिएको छ।

यस्तो छ वक्तव्यः

‘जम्मु कस्मिरलाई भारत सरकारले केन्द्रशासित राज्य बनाउन गरेको निर्णयलाई नेकपा (मसाल)ले गम्भीर रूपमा विरोध गर्दछ र त्यसको भर्त्सना गर्दछ। वास्तवमा भारत, पाकिस्तान र संयुक्त राष्ट्रसङ्घका बीचमा भएको त्रिपक्षीय सम्झौताअनुसार जम्मूकश्मीरका जनतालाई जनमत सङ्ग्रहद्वारा भारतमा मिल्ने वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार दिनुपर्दथ्यो। तर, भारतले जम्मूकश्मीरका जनतालाई त्यो अधिकार दिएको छैन। त्यसैले त्यहाँ एकातिर, जम्मूकश्मीरका जनताले आफ्नो आत्मनिर्णयको अधिकारका लागि लामो समयदेखि कडा सङ्घर्ष गर्दै आउनु परेको छ भने, अर्कातिर, त्यही विवादका कारणले भारत र पाकिस्तानका बीचमा कैयौँपल्ट युद्धहरू पनि भइसकेका छन्। त्यसरी भारतले लिएको गलत नीतिका कारणले नै पाकिस्तानमा आशान्तिको र भारत र पाकिस्तानका बीचमा दीर्घकालिन तनावको स्थिति पैदा भएको छ। त्यसका लागि भारत नै जिम्मेवार छ।

अहिले भारत सरकारले लिएको निर्णय स्वयं भारतले जम्मूकश्मीरलाई जुन विशिष्ट स्थान दिएको थियो त्यसका पनि विरुद्ध छ। त्यसले मोदी सरकारको स्वेच्छाचारी नीतिलाई पनि बताउँछ। त्यसका साथै अहिले भारत सरकारले जम्मूकश्मीरबारे गरेको निर्णय भारत सरकारको जन्मूकश्मीरसम्बन्धी नीतिको असफलता पनि हो। अहिलेको निर्णयले आफ्ना न्यायपूर्ण मागका लागि जम्मूकश्मीरका जनताको आन्दोलन बढ्दै गएको र त्यसलाई दवाउन भारत सरकार असफल भएको कुरालाई पनि बताउँछ। त्यसले गर्दाखेरि नै मोदी सरकार स्वयं आफ्नो संविधानका विरुद्ध गएर त्यसलाई केन्द्रशासित राज्य बनाउन बाध्य हुनु परेको छ।

भारतले जम्मूकश्मीरबारे अपनाएको नीति स्वयं आफूले नै गरेको सम्झौताका विपरित छ। त्यसैले अहिलेको सरकारको निर्णयले पनि जम्मूकश्मीरका जनताको आफ्नो न्यायपूर्ण आन्दोलनलाई दवाउन नसक्ने कुरा निश्चित छ। अहिलेको मोदी सरकारको निर्णयले भारतको साम्राज्यवादी चरित्रलाई अरू नाङ्गो रूपमा बाहिर ल्याएको छ र त्यसको भण्डाफोर गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ। त्यसका साथै जम्मूकश्मीरका जनताको न्यायपूर्ण आन्दोलनसित पनि हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad