नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा (वादल), टोपबहादुर रायमाझी लगायतका अहिले केपी ओलीतर्फ लागेका नेताहरुलाई सहयोग गरेर आफूले गल्ति गरेको बताएका छन्।
आफूलाई वास्तवमा सहयोग गर्ने नेता कार्यकर्ताको साटो अरुलाई साथ दिँदा अहिले उनीहरुबाट आफैलाई धोका भएको उनले बताए।
‘त्यत्रो बदमाशी गरेकालाई गृहमन्त्री बनाएर पठाएको अहिले त यस्तो,’ शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता भेलामा गृहमन्त्री रामबहादुर थापातर्फ संकेत गर्दै प्रचण्डले भने।
उनले टोपबहादुर रायमाझीबाट पनि त्यस्तै धोका भएको बताए।
‘बाबुरामजीसँग वैचारिक संघर्ष हुँदा जे होस् टोपबहादुर (रायमाझी) ले साथै दिए भनेर लगेको, सहयोग गर्ने भनेको त यो गरिदिए,’ प्रचण्डले सोहि भेलामा भने, ‘अरु त अरु त्यो एकजना न केहि बुझेको छ, न केहि छ, स्थायी समिति सदस्य बनाइदिएको अहिले मन्त्री!’
उनले अहिले आफूले आत्मसमीक्षा गर्दा गल्ति महशुस गर्दै अब त्यसो नगर्ने धारणा बनाएको बताए।
‘त्यस्तालाई भन्दा त प्रचण्ड बनाउन भनेर दृढताका साथ लागेका आफ्नै साथीहरुलाई गरेको भए त यो दिन त देख्न पर्दैनथ्यो भन्ने महशुस मलाई भएको छ,’ उनले भने।
त्यसैले अहिले ओलीतर्फ गएका माओवादी नेताहरुलाई फकाउन छाडेको बताए।
‘जाऊ तिमीहरु नभएकै जाति, साँच्ची फकाउन पटक्कै मन छैन, साथीहरुले तपाईंले भने फर्किने भनेका छन् भन्छन् तर मैले चाहिँ भो ती फर्किनुपरेको छैन, उतै जाउन् भनेको छु,’ उनले भने।
आफूले त्यस्ता नेताहरुलाई फर्काएर पार्टीभित्र फेरि भाँडभैलो गराउन नचाहेको उनको तर्क छ।
प्रचण्डले आफूले अरुलाई सहयोग गर्दा आफ्ना वास्तविक साथीहरु अन्याय परेको हुँदा त्यस्ता नेताहरुलाई फकाउन नलागेको प्रष्ट्याए।
अहिले पार्टी विभाजन हुँदा गृहमन्त्री रामबहादुर थापा वादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा लगायतका नेताहरु प्रधानमन्त्री ओलीको पक्षमा लागेका छन्।
अहिले उनीहरु ओली सरकारमा मन्त्री छन्।
Shares

प्रतिक्रिया