नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको रूपान्तरणमा विनोद चौधरीको भूमिका अग्रस्थानमा रहेको बताएका छन्।
शुक्रबार नवलपरासी (पश्चिम) स्थित बर्दघाट-१२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस क्षेत्रका कांग्रेसी उमेदवार विनोद चौधरी रुपान्तरित कांग्रेसको महत्वपूर्ण अंग रहेको जिकिर गरे। ‘अहिले कांग्रेस बदलिएको छ र कांग्रेसमा परिवर्तन ल्याउन विनोद चौधरीको भूमिका अग्रस्थानमा छ,’ शर्माले भने।
छोटो अवधिमै चौधरीले उल्लेखनीय काम गरेको शर्माको भनाइ थियो। चौधरीको प्रतिबद्धताको उदाहरण दिँदै शर्माले भने, ‘हामीले उहाँलाई संसदमा चाहिने मान्छे हो, काठमाडौँबाट लड्नुस् भन्यौँ। तर उहाँले भन्नुभयो- म पश्चिम नवलपरासीबाटै लड्छु, त्यहाँ धेरै विकास गर्नु छ।’
यसलाई चौधरीको क्षेत्रप्रतिको निष्ठा र विकासप्रतिको दृढ संकल्पको रुपमा शर्माले ब्याख्या गरे।
आगामी निर्वाचनलाई सामान्य जीत-हारको प्रतिस्पर्धा नभई देशको विषम परिस्थितिलाई कसले सम्हाल्न सक्छ भन्ने क्षमताको परीक्षा भएको शर्माको भनाइ थियो। ‘यो चुनाव जीत र हारको चुनाव होइन, यो चुनाव कसले देशको विषम परिस्थितिलाई सम्हाल्न सक्छ भन्ने चुनाव हो,’ उनले भने।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनले खोजेको परिवर्तन दल, काम गर्ने शैली र प्रशासनिक संरचनामा देखिनुपर्ने उल्लेख गरे। देशको खलबलिएको अवस्थालाई स्थिरता दिन सक्ने क्षमता कांग्रेससँग रहेको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया