नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सशक्त सुशासन अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
शुक्रबार सर्लाहीको बर्थवा नगरपालिकास्थित कोइरी टोलमा आयोजित सर्लाही-४ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले भ्रष्टाचारले देशलाई जर्जर बनाएको बताए। ‘कानुनको अगाडि सबै समान छन् भन्ने कुरा व्यवहारमै लागू हुनुपर्छ,’ श्रेष्ठले भने, ‘दोषी जो भए पनि कारबाही गर्नुपर्छ।’
पछिल्लो पटक सरकारमा रहँदा भूटानी शरणार्थी, ललिता निवास, सुन तस्करी, बाँसबारी जग्गा घोटालालगायतका प्रकरणमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे। त्यतिवेला सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गर्नेहरूविरुद्ध पनि कडा कदम चालेको उनले सुनाए।
उनले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा उभिन मतदातालाई आग्रह गरे। सर्लाही-४ बाट नेकपाका डा. रजनीश यादव प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्।
Shares

प्रतिक्रिया