ad ad

समाज


कोरोनाले रोकेन माघीको उल्लास, मौकामा चौका हान्दै राजनीतिक दल

कोरोनाले रोकेन माघीको उल्लास, मौकामा चौका हान्दै राजनीतिक दल

गोकुल जोशी
माघ ३, २०७८ सोमबार १९:१९, काठमाडौँ

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले २५ जना भन्दा बढी भेला नगर्न आदेश जारी गरेको एक हप्ता भएको छ। तर स्थानीय तहले भने सरकारी आदेशको खिल्ली उडाउँदै कोरोनाको जोखिमलाई बेवास्ता गरेर सयौँ मानिस भेला गरेर माघी मिलन कार्यक्रम आयोजना गरिरहेका छन्।

कञ्चनपुरका थारु समुदायको बसोबास रहेको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिकामा सयौँ मानिसलाई भेला गरेर स्थानीय तहको आयोजनामा माघी मिलन कार्यक्रम भइरहेका छन्। 

माघी मिलन कार्यक्रममा राजनीतिक दलका नेताहरु सहभागी भएर चुनावी प्रचारप्रसार पनि गरिरहेका छन्। 

कोरोना जोखिमलाई बेवास्ता गर्दै स्थानीय तहको आयोजनामा भएका माघी मिलन कार्यक्रममा सहभागी भएर नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले लगायत राजनीतिक दलका नेताहरु चुनावको झल्को दिने किसिमले आफ्नो प्रचारबाजीमा लागेका छन्।

‘कोरोनोको तेस्रो लहर फेरि बढ्दै गएको छ। सरकारले २५ जना भन्दा बढी भेला नहुन भनेको छ,’ शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका रामदास चौधरीले भने, ‘तर, कुनै पनि स्वास्थ्य मापदण्ड नअपनाएर मानिस भेला पार्नमा स्थानीय सरकार नै लागेको छ।’

चुनावी प्रचार प्रसार गर्ने उद्धेश्यका साथ आफू सम्बद्ध पार्टीका नेताहरुलाई कार्यक्रममा बोलाएर चुनावी प्रचार प्रसार गर्ने काम पनि भइरहेको उनको भनाइ छ।

शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आयोजित माघी मिलन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद प्रमुख अतिथि रहेका थिए। त्यो उनको निर्वाचन क्षेत्र अन्तर्गत पनि पर्दछ। 

सिसैयाको माघी मिलन कार्यक्रम झट्ट हेर्दा नेपाली कांग्रेसको कार्यकर्ता भेला जस्तै रहेको रामदास सुनाउँछन्। कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ता तथा जनप्रतिनिधिको बाक्लो उपस्थिती रहेको थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द शाह, शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐर, नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंह र शुक्लाफाँटा नगरपालिका–९ का वडाध्यक्ष रमेश ऐर लगायत नेताहरुको सहभागिता रहेको थियो। 

माघी मिलनको मौका छोपेर कोरोनाको त्रासकैबीच नेताहरु स्थानीय, कार्यकर्तालाई जम्मा गरेर आफूले गरेको कामहरुको प्रचारप्रसार गर्नमा व्यस्त छन्। 

‘एनपी साउद यस क्षेत्रको नेता हो। उहाँले जित्नुभयो भने मन्त्री भइहाल्नु हुन्छ। यो क्षेत्रमा पुलपुलेसा, बाटोघाटो बनाउने पार्टी नेपाली कांग्रेस नै हो,’ माघी मिलन कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गोविन्द शाहले भने, ‘एनपी साउद जितेमा थारु समुदायको संरक्षण गरेर यहाँहरुका मुद्दा अगाडि बढाउँछौँ ।’

कोरोनाको जोखिम भुलेर स्थानीय, जनप्रतिनिधि, नेता–कार्यकर्ता माघीको रौनकमा डुबेका छन्। यसअघि आयोजित माघी कार्यक्रममा पनि आफू सम्बद्ध पार्टीका नेताहरुलाई कार्यक्रममा बोलाएर स्थानीय तहले दलहरूको राजनीतिक प्रचारमा सक्रियता देखाएका थिए। 

कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भए पनि नेताहरुले कोरोनालाई बेवास्ता गर्दै स्वास्थ्य मापदण्ड नै पालना गरेका छैनन्।

त्यहाँ उनीहरुले सामाजिक दूरी कायम गरेका छैनन्। सयौँको उपस्थिती रहेको कार्यक्रममा अधिकांशले मास्कको प्रयोग पनि गरेका छैनन्। 

भीडभाड हुने ठाउँमा स्वास्थ्य मापदण्डको पालना नगर्दा संक्रमण तीब्र रुपमा फैलिन सक्ने स्वास्थ्य कार्यालय, कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्ट बताउँछन्।

‘केही दिन यता कोरोना संक्रमण बढिरहेको छ। संक्रमण तीब्र भइरहेको बेला भारतबाट गड्डाचौकी नाका भएर मानिसहरु आउने क्रम पनि बढेको छ,’ उनले नेपालखबरसँग भने, ‘यस्तो अवस्थामा अनावश्यक भीडभाड तथा स्वास्थ्य मापदण्ड नअपनाए संक्रमण फैलिन सक्ने जोखिम छ।’

जिल्ला प्रशासन कार्यालयले माघी मिलन कार्यक्रम नगर्न स्थानीय तहलाई निर्देशन दिएपनि निर्धक्क कार्यक्रम भइरहेका हुन्। 

पछिल्लो समय नेताहरुमा कोरोनाको संक्रमण बढेको पाइएको छ। तर, उनीहरुले कोरोनाको जोखिम बढाउने खालका कार्यक्रममा सहभागी हुन छोडेका छैनन्। नेताहरु कार्यकर्ता भेटघाट लगायतका कार्यक्रममा व्यस्त छन्।

स्थानीय तहका प्रमुखलाई माघी मिलन कार्यक्रम नगराउन आग्रह गरेपनि अटेरी गरेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। 

‘सबै स्थानीय तहका प्रमुखलाई भीडभाड हुने कार्यक्रम नगर्न भनेका छौँ,’ उनले भने, ‘तर कार्यक्रम भएका पाइएका छन्। हामी स्थानीय तहलाई फेरि ताकेता गर्छौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .