समाज


नायक पल शाह जेल चलान, कृष्ण जोशीसँग एक लाख धरौटी माग

नायक पल शाह जेल चलान, कृष्ण जोशीसँग एक लाख धरौटी माग

नेपालखबर
चैत १०, २०७८ बिहिबार १८:५९, काठमाडौँ

नाबालिग गायिकामाथि बलात्कार अभियोगमा नायक पल शाह जेल चलान भएका छन्।

जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

तनहुँका प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले तीन दिन लामो थुनछेक बहसपछि बिहीबार थुनामा पठाउन आदेश जारी गरेको हो। 

२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो। फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। 

दर्ता लगत्तै अदालतले उनीसँग बयान लिएको थियो। शा र उनका म्यानेजर कृष्ण जोशीसँगको बयानपछि सरकारी वकिल र पीडित पक्षका निजी कानुन व्यवसायीले बहस गरेका थिए।

पल पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

पलका म्यानेजर कृष्ण जोशीसँग भने अदालतले एक लाख धरौटी माग गरेको छ।

यही घटनामा मतियारका रुपमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। घटना घटाउन सहज बनाइदिएको र घटना सार्वजनिक भएपछि ढाकछोप गर्न खोजेको आरोप उनीमाथि छ। 

पललाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ। उनका म्यानेजरलाई त्यसको आधा सजाय माग गरिएको छ। पलविरुद्ध जिल्ला अदालत नवलपुर-९ (पूर्वी नवलपरासी) मा पनि बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ। 

तनहुँमा आदेश आएपछि अब पललाई थुनछेक बहसका लागि नवलपुर लगिने छ। दुवैतिर एकसाथ अनुसन्धान हुँदा नवलपुरमा पहिल्यै मुद्दा दर्ता भए पनि थुनछेक बहस हुन सकेको छैन।

तनहुँमा थुनछेक आदेश भएसँगै नवलपुर पठाइदिन त्यहाँको अदालतले पत्र पठाइसकेको छ।

थुनछेक बहसमा जाहेरवालाको पक्षबाट दुई सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गरेका थिए। 

पीडितको पक्षमा जिल्ला न्यायाधिवक्ता रामचन्द्र पौडेल, सह-न्यायाधिवक्ता विपिनराज तिवारी, वैतनिक वकिल शिवराज काफ्ले र ६ जना निजी कानुन व्यवसायीले बहस गरे।

निजी कानुन व्यवसायीहरु मोहना अन्सारी, राधिका खतिवडा, किशोर सापकोटा, टेकनारायण गौतम, सरिता तिवारी, विरोध प्रसाद लामिछाने, शिवराज काफ्लेसहितले पीडितको पक्षबाट बहस गरेका थिए।

प्रतिवादी शाहको पक्षबाट १२ जना वकिलले बहस गरेका थिए। जाहेरवाला पक्षको बहस बुधबार नै सकिएको थियो। 

वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, कमलामोहन वाग्ले, लव मैनाली, यज्ञ राना, परशुराम गिरीसहित १२ जना वकिल शाहको पक्षबाट बहसमा सहभागी भएका थिए।  

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको बन्द इजालसमा प्रतिवादीको तर्फबाट कानुन व्यवसायीको बहस बुधबारदेखि नै सुरु भएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर सोमबार प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। त्यसपछि जिल्ला न्याधिवक्ताले मंगलबार अदालतमा मुद्दा लगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad