ad ad

समाज


मिटरब्याजीको शोषण : एक लाख ऋणको १३ लाख असुली, उल्टै पीडितलाई जेल

मिटरब्याजीको शोषण : एक लाख ऋणको १३ लाख असुली, उल्टै पीडितलाई जेल

नथुनी साह सोनार र ममता देवी


शैलेन्द्र महतो
जेठ २५, २०७९ बुधबार १५:२६, जनकपुरधाम

जेठ १८ गते राति साँझको खाना खाएर महोत्तरीको औरही नगरपालिका १ बजार टोलका नथुनी साह सोनारको परिवार ओछ्यानमा पल्टेको थियो। दिनभरको थकानले उनीहरु मस्त निद्रामा थिए। राति करिब ११ बजे कसैले ढोका ढक्ढक्याउँदै बोलायो, ‘नथुनी, ए नथुनी!’

नथुनीले ढोका खोले। बाहिर प्रहरीको टोली थियो।

‘तपाईंलाई पक्राउ गर्न आएका हौँ। माथिको आदेश छ। सँगै जानुपर्छ,’ प्रहरीले भने।

नथुनी र उनका परिवार छाँगाबाट खसेझैँ भए। भोलि बिहान लैजान परिवारजनले हारगुहार गरे। तर, प्रहरीले मानेन। मध्यरातलाई नथुनीलाई पक्राउ गरियो।

नथुनीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरी पुर्यायो। भोलिपल्टै प्रहरीले उनलाई जलेश्वर कारागार पुर्यायो।

सोधखोज गर्दा भोलिपल्ट मात्र थाहा भयो, नथुनीलाई लेनदेन मुद्दामा महोत्तरी जिल्ला अदालतले एक वर्षको जेल सजायको फैसला गरेको रहेछ। छिमेकी सुदखोर विजय चौधरीले उनीविरुद्ध मुद्दा हालेका थिए।

यो मुद्दाको विषयमा नथुनीसहित उनका परिवार अनभिज्ञ थिए। 

‘एकाएक मेरो पतिलाई प्रहरीले रातारात जेल चलान गरेपछि यो मुद्दाको विषयमा थाहा पायौँ,’ नथुनीकी श्रीमती ममता देवीले सुनाइन्।

जेलमा रहेका नथुनीले पनि आफूलाई यो मुद्दाको विषयमा जिल्ला प्रहरीमा पुर्याएपछि थाहा पाएको नेपालखबरलाई बताए। 

‘मुद्दाको विषयमा केही थाहा नै थिएन। घरमा कहिल्यै कुनै पत्र अदालतबाट आएको भए पो थाहा हुन्थ्यो। एकाएक प्रहरीले जेलमा ल्याएपछि थाहा पाएँ,’ नथुनीले नेपालखबरसँग भने। 

उनलाई भेट्न नेपालखबर संवाददाता जेलमै पुगेको थियो। 

नथुनी जेल पुग्नुको कारण हो, छिमेकी सुदखोर विजयसँग एक लाख रुपैयाँ ऋण लिनु। अत्यन्तै चर्को बजारको हजारमा झण्डै ८ वर्षअघि नथुनीले १ लाख रुपैयाँ ऋण कपाली तमसुक गरेर विजयसँग ऋण लिएका थिए। जुन ऋणको ब्याजसहित गरेर विजयलाई १३ लाख रुपैयाँ तिरिसकेको ममता बताउँछिन्।

‘विजय चौधरीको १ लाख रुपैयाँ ऋणको ब्याज, स्याज गरेर १३ लाख रुपैयाँ तिरिसकेकी छु,’ ममताले भनिन्, ‘तीन वर्षसम्म प्रत्येक ४ दिनमा ब्याज गरेर ६ लाख ९७ हजार। अन्तिममा घर भएको घडेरी बन्धकी राखेर एक महाजनबाट चार लाख र स्वावलम्बनबाट दुई लाख गरी ६ लाख एकमुस्ट विजयलाई आफ्नै घरमा बुझाएकी छु।’

त्यति रुपैयाँ चार वर्षभित्र बुझाउँदा पनि विजयले ब्याज जोडेर १२ लाख पुगिसकेको बताएका थिए।

‘अन्तिममा ६ लाख लिन विजय र उनकी आमा शान्ता साह मेरो घरमा आएका थिए। त्यति पैसा दिएर मैले दुवै हात जोडेर बिलौना गरेकी थिएँ। अब मसँग अरु कुनै विकल्प छैन। तमसुक फिर्ता गरिदिनुस्। मेरा छिमेकीहरु साक्षी छन्,’ उनले भनिन्, ‘तर विजयले अझै ६ लाख अझै बाँकी बस्यो, तिरेपछि मात्र तमसुक फिर्ता गर्छु भन्यो। तर, तमसुक फिर्ता गरेनन्। बुझेको पैसाको पनि प्रमाण दिएनन्।’

सुदखोर विजयको चंगुलमा यसरी पर्यो नथुनीको परिवार
नथुनीले गरिबीको कारण बैंकबाट सहुलियत दरमा ऋण पाएनन्। त्यसैले घर चलाउन तथा औरही बजारमै सुन पसलको लागि विजयसँग नथुनीले २०७१ को अन्ततिर १ लाख रुपैयाँ बजारको हजार ब्याजदरमा ऋण लिए। जसअनुसार एक लाख रुपैयाँको ब्याजस्वरुप प्रत्येक चार दिनमा २ हजार तिर्नुपर्छ। त्यसअनुसार पैसा नदिए कानुनी प्रक्रियाद्वारा असुल उपर गर्न नथुनीको नामबाट एक लाखको चार गुना अर्थात् चार लाख रुपैयाँ ऋण लिएको कपाली तमसुक विजयले बनाए।

६ महिनासम्म ममताले प्रत्येक चार दिनमा २ हजार तिरिन्। केही बजार नतिरेपछि विजयले ६ महिनापछि १ लाख ७५ हजार साँवा कायम गरी पुनः चार गुणा गरी कपाली तमसुक बनाए नथुनीको नामबाट।

त्यसपछि प्रत्येक चार दिनमा ३५ सय रुपैयाँ ब्याज विजयलाई बुझाउनु पर्ने थियो। ६ महिनासम्म बुझाए। तर त्यसपछि ममता मोटरसाइकल दुर्घटनामा परिन्। ब्याज बुझाउन फेरि रोकियो। ७ महिना पश्चात विजयले १ लाख ७५ हजारमा तिर्न नसकेको ब्याज थपेर २ लाख ४५ हजार साँवा पुर्याए।

तमसुक परिवर्तन गर्न दबाब दिन थाले। सोही वर्ष नथुनी वैदेशिक रोजगारमा साउदी अरब पुगिसकेका थिए। ममताले तमसुक जस्ताको तस्तै राख्न आग्रह गर्दै बरु ब्याज तिरिदिने बताइन्।

ब्याज २ लाख ४५ हजारको बजारको हजारमा अब प्रत्येक चार दिनमा ५ हजार तिर्नुपर्ने भयो। ममता तिर्न राजी भइन्। २ वर्षसम्म यसरी नै प्रत्येक चार दिनमा ५ हजार सापटी खोजेर पनि तिरिन्। जसको कुनै प्रमाण विजयले दिएनन्। यसरी बजारको हजार बुझाउँदा ममताले तीन वर्षमा ६ लाख ९७ हजार रुपैयाँ तिरेको बताइन्।

नथुनी विदेशमा दुर्घटनामा परेर थला परे। लामो समय विदेशमै उपचार गराउनु पर्यो। केही समय ब्याज तिर्न नसकेपछि विजय ममतालाई घरमै पुगेर गालीफजिती गर्न थाले। ममताले घर भएको घडेरी बन्धकी राखेर ६ लाख रुपैयाँ विजयलाई दिइन्। केही समय पश्चात नथुनी घर फर्के।

ममताका अनुसार विजयले बाँकी भनेको ६ लाख रुपैयाँ नतिर्दा केही समय पश्चात घरमा आएर फेरि थर्काउन सुरु गरे। २०७५ को अन्ततिर घरमै पुगेर पैसा नतिरे इज्जत लुटिदिने धम्की दिए। केही समयअघि मात्र औरहीमा एक ६ महिने बालिकाको बलात्कारपछि हत्या भएको थियो। पैसा नदिए त्यस्तै घटना गरिदिने विजयले धम्की दिएपछि नथुनी डराएर इज्जत जोगाउन सपरिवार घर छाडेर भागे। उनीहरु भारतको तामिलनाडु पुगे।

मिटरब्याजी विजयको घरमा दुईपटक छापा
झण्डै दुई वर्षअघि सोही गाउँकी एक ऋणी महिलालाई विजय र उनको परिवारले घरमै पुगेर कुटपिट गरेपछि उनको मिटरब्याजी धन्दाको नेपालखबरले खुलासा गरेको थियो।

नेपालखबरमा समाचार सार्वजनिक भएपछि महोत्तरी प्रहरीले मिटरब्याजी विजयको घरमा दुई पटक छापा मारेको थियो।

पहिलो पटक २५ भदौ २०७७ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीले छापा मारेको थियो। निरन्तर नेपाखबरले उनको विषयमा खोज गरी समाचार प्रकाशन गरेपछि दोश्रो पटक इलाका प्रहरी कार्यालय गौशालाले छापा मारेको थियो।

समाचार प्रकाशन भएलत्तै विजयले आफ्ने घरबाट कपाली तमसुक अन्यत्र लुकाएकाले प्रहरीले कुनै कागजात फेला पारेन। निरन्तर समाचार प्रकाशन र प्रहरीले छापा मारेपछि विजय डराएर चुप लागे। गाउँमा उनको आतंकबाट थुप्रैले केही राहत पाए। विजयको थिचोमिचो सहन नसकेर गाउँ छाडेका केही परिवारमध्ये नथुनी केही समयपछि घर फर्के।

तीन छोरा रहेका नथुनी श्रीमतीसँगै घरमा बस्न थाले। घरमै सानो किराना पसल थापे। त्यसैबाट उनले जेनतेन गुजारा गरिरहेका छन्। ऋणले थिचिएर उनको परिवारको जीवन घर न घाटको भएको छ। तर, विजयले अदालतमा लेनदेनको मुद्दा हालेको विषयमा उनका परिवारलाई पत्तो भएन। एक लाखको १३ लाख रुपैयाँ शोषण गरेर नथुनीको परिवारलाई बिल्लीबाठ बनाएका कपटी मिटरब्याजी विजय अन्ततः नथुनीलाई जेल पुर्याएरै छाडे।  

फेरि अशान्त भयो औरही गाउँ
नथुनीलाई १३ लाख असुलेर जेल पुर्याएपछि गाउँमा फेरि विजयको आतंक बढेको छ। अधिकांश दलित एवं विपन्न परिवारको बस्ती रहेका औरहीबजार टोलमा फेरि त्रास फैलिएको छ।

विजयले सो टोलका आधा दर्जनभन्दा बढी घरपरिवारलाई बजारको हजार भाउमा ऋण दिएर प्रताडित गरेका छन्। उनले थुप्रैलाई घरघडेरी, गाईवस्तु समेत जफत गरेर सडकमा पुर्याएको स्थानीय वासुदेव मण्डल बताउँछन्।

‘१ लाखको १३ लाख असुल गर्दा पनि नथुनीलाई पहिला इज्जत लुट्ने धम्की दिएर गाउँबाट विस्थापित गरे। आएपछि मुद्दा हालेर जेल कोचे,’ वासुदेवले भने, ‘यहाँका धेरै परिवार विजयको सिकार भइसकेका छन्। सरकारले हाम्रो रक्षा गरोस्। विजयमाथि कडा कारबाही होस्। यहाँ गरिबलाई बाँच्न गाह्रो भइसक्यो’

स्थानीय श्रीवती साहले गाउँका गरिबहरुलाई विजयले लुटिसकेको दुखेसो पोेखिन्। तर प्रहरी प्रशासनले उनलाई कारबाही नगर्दा र उल्टै पीडितलाई जेल पुर्याउँदा आफूहरु असुरक्षित महसुस गर्न थालेको बताइन्।

स्थानीय रामदरेश यादवले विजयलाई कारबाही नभए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।

नथुनीलाई महोत्तरी जिल्ला अदालतले गएको माघ २७ गते विजयले हालेको लेनदेन मुद्दाको फैसला गर्दै १ वर्ष जेल सजाय सुनाएको थियो।

मिटरब्याजी विजयको नामबाट महोत्तरी जिल्ला अदालतमा लेनदेनसम्बन्धी तीन वटा मुद्दा फैसला भइसकेको छ। उनको आमा, भाइसहितको नामबाट पनि मुद्दा हालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .