समाज


देशभर वर्षा, आज पनि जारी रहने

असिना र हावाहुरीको पनि सम्भावना
देशभर वर्षा, आज पनि जारी रहने

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०७९ मंगलबार ७:१२, काठमाडौँ

विगत १२ घण्टामा देशभरजसो वर्षा भएको छ भने अहिले पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार देशका कतिपय स्थानमा झरीजस्तै निरन्तर पानी परेको छ। अहिले कतिपय स्थानमा वर्षा रोकिएको छ भने सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका एक/दुई स्थानमा भने पानी परिरहेको छ। 

‘विगत १२ घण्टामा देशका सबै प्रदेशका केही स्थानमा वर्षा भएको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘अहिले अलि ठूलै प्रणाली (पानी पार्ने) भित्रिएको छ, पूरै नेपाल कभर गरेको छ।’

मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली (पूरै आकाशमा बादल) रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

काठमाडौँ उपत्यकामा भने अहिले वर्षा रोकिएको छ। दिउँसो पुनः हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्। ‘दिउँसो मेघगर्जन/चट्याङसहित वर्षा हुने देखिएको छ’, उनले भनिन्, ‘हावाहुरीको पनि सम्भावना छ।’

काठमाडौँमा त्रिुभवन विमानस्थलस्थित मौसम महाशाखाको स्टेसनमा विगत २० घण्टामा ९.२ मिलिमिटर वर्षा भएको देखाएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। 

यसैबीच आज बिहान ६:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री सेल्सियस देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिने उनले बताइन्। 

मौसम महाशाखाका अनुसार आज राति पनि आंशिकदेखि सामान्य बदली (धेरैजसो आकाशमा बादल) रहने छ। देशको पहाडी भेगका थोरै स्थानमा तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .