समाज


गृहले सबै जिल्ला प्रशासनसँग माग्यो इजाजत प्राप्त हतियारको विवरण

गृहले सबै जिल्ला प्रशासनसँग माग्यो इजाजत प्राप्त हतियारको विवरण

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार १५:३२, काठमाडौँ

गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

सोमबार सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईका दुईजना सहयोगीहरू इजाजत लिइएका हतियारसहित पक्राउ परेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

गृहले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो।

हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ। त्यहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत दिइएका हतियारको विवरण पठाउन पत्राचार गरेको हो।

‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्यविपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएकोसमेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ’, गृहले गरेको परिपत्रमा भनिएको छ।

सोमबार ब्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्ड सर्वोच्च अदालत परिसरमा अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए। प्रहरीले हातहतियारसहित प्रसाईंका सुरक्षागार्ड दीपक खड्का र रामकुमार धिमाललाई नियन्त्रणमा लिएको थियो।

खड्काको साथबाट प्रहरीले एचके ५३ हतियार नियन्त्रणमा लिएको थियो। सोमबार सर्वोच्च अदालतमा प्रसाईंको मुद्दाको सुनुवाइ भइरहेको थियो। त्यही क्रममा हातहतियारसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले सिंहदरबार वृत्तमा राखेको छ।

धिमालको साथबाट हतियारसहित १०० राउण्ड गोली, म्यागजिन र दुईवटा मोबाइल बरामद भएका थिए। उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार प्रहरीले कारबाही अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .