ad ad

समाज


‘वान एक्स बेट’मार्फत् ५७ करोडको कारोबार, काठमाडौँबाट सर्लाहीका ३ युवक पक्राउ

‘वान एक्स बेट’मार्फत् ५७ करोडको कारोबार, काठमाडौँबाट सर्लाहीका ३ युवक पक्राउ

नेपालखबर
बैशाख ३, २०८१ सोमबार ५:३१, काठमाडौँ

नेपाल प्रहरीले ‘वान एक्स बेट’मार्फत् विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने वान एक्स बेटमार्फत सट्टेबाजी गराउन रकम सङ्कलन गर्ने तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी रहेका छन्। 

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विभिन्न खेलमा वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको जानकारी दिए।

‘पक्राउ परेकाले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएस खाता खोलेर ९८ वटा बैंकका खाता खोलेको अनुसन्धानमा भेटिएको छ’,  प्रवक्ता रेग्मीले भने। पक्राउ परेकाले ती खाताबाट रु ५७ करोड ४१ लाख ५७ हजार एक सय ४७ बराबरको कारोबार गरेको प्रहरीले जनाएको  छ।

पक्राउ परेका तीनैजनामाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरअन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताए।  

प्रहरीले उनीहरूसँग नौ थान मोबाइल, २१ थान सिमकार्ड, ल्यापटप दुई थान, सिपियु एक थान, नगद रु ६२ हजार र विभिन्न सहकारीका पासबुक तथा बैंकका चेकबुक बरामद गरेको छ। 

पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .