सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्धारका लागि आफ्नो तयारी थालेको छ। यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
त्यस्तै टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद्सम्बन्धि अनुशिक्षण तथा अभ्यास संचालन गर्ने थापाले बताए।
अघिल्ला वर्षहरूमा भएको विपद्का घटनालाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा छलफल भएको थियो।
थापाका अनुसार उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको छ।
विपद् सूचकअन्तर्गत आफ्ना पूर्वकर्मचारीसमेत यसमा सहभागी गराउँदै वडा–वडामा सचेतना मूलक कार्यक्रम गर्ने सशस्त्र प्रहरीले तयारी थालेको छ। यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटोभन्दा छिटो उद्वारका कार्यमा खटिन सक्ने विश्लेषण गरिएको र अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रुपमा १५ दिनको विपद् व्यवस्थापन तालिम संचालन गरिने लक्ष्यसमेत रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनस्रोत सम्पन्न, कम साधनस्रोत भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनस्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिनेछ।
छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनको लागि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्न र सामान पुगेन भनेर पन्छिने छुट कसैलाई नभएको भन्दै विपद्को समयमा सरकार छ, सुरक्षाकर्मी छन् भन्ने आम जनतामा भरोसा हुने गरी काम गर्न निर्देशन दिएका छन्।
उनले आगामी मनसुनमा के गर्ने भन्ने बारेको स्पष्ट खाका तयार गर्नसमेत विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
विपद्को समयमा तयारी र परिचालन उत्कृष्ट हुन जरुरी रहेको र विपद् भएको स्थानमा छोटो भन्दा छोटो समयमा पुग्न सकेमा मात्र जनधनको क्षती न्यूनीकरण गर्न सकिने बताउँदै उनले २४सै घण्टा परिचालन हुनको लागि सबै युनिटमा टोलीहरू तयारी अवस्थामा राख्न पनि आईजीपी अर्यालकाे निर्देशन छ।
यसैगरी समुदाय लक्षित विपद्सम्बन्धि स्वयमसेवक तालिम सुरु गरिएको छ। मनसुनजन्य प्रकोप न्यूनीकरण र उद्वारको स्पष्ट खाका तयार भएसँगै सबै बाहिनीपति, गणपति तथा गुल्मपतिसम्मलाई भर्चुअल माध्यमबाट त्यस सम्बन्धी आवश्यक निर्देशन समेत दिने र विपद् व्यवस्थापनमा विगतको अनुभव, सुधान गर्नुपर्ने विषयहरू र आगामी योजना सम्बन्धमा भएको छलफलमा फिल्डमा खटिने कमाण्डर तथा अन्य दर्जाले समेत उद्वारका अनुभव र पूर्व तयारीबारे आ–आफ्नो धारणा राखेका थिए।
सशस्त्र प्रहरी बलको हाल कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय तथा काठमाडौँ उपत्यकामा विपद् व्यवस्थापन गण रहेको छ। यसैगरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको बेनी र नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा विपद् व्यवस्थापन वेश स्थापना भएका छन्।
हाल सशस्त्र प्रहरी बलसँग विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति २ हजार ४ सय ८५ जना छन् भने गोताखोरको संख्या १ सय ८ पुगेको छ। सशस्त्र प्रहरी बलसँग हाल ३३ मोटरबोट तथा ९१ र्याफ्टबोट रहेको छ।
मनसुन प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको १३ वटा डोजर, लोडर र एक्जाभेटरसहित तालिम प्राप्त जनशक्ति तयारी छ। जसमध्ये सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा ३ वटा, नं. १ बराह बाहिनी मुख्यालय सनुसरीमा २ वटा, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा १ वटा, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा ३ वटा, नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा १ वटा र नं. २४ कालिका गण कास्कीमा २ वटा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको सशस्त्रकाे दाबी छ।
यसैगरी देशका ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा १ सय २४ वटा मोटर बोट र र्याफ्ट बोट तथा १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपाल कार्यालयहरूमा २८ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस कन्टेनर) समेत तयारी अवस्थामा राखिएको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगल १/१ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स राखिएको छ।
ए क्लासको एम्बुलेन्स सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १-१ वटा राखिएको छ।
१ सय ८ जना गोताखोरहरूलाई आवश्यक उपकरणसहित ७ वटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरू तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, विपद् व्यवस्थापन वेश खुर्कोट र सिन्धुलीमा तैनाथ गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, रेस्क्यु टावर फेवाताल कास्की, नारायणी नदि किनार चितवन र सबै विपद् व्यवस्थापन वेसमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू परिचालित रहेका छन्।
यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरू, उपत्यकास्थित नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरूमा एक/एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटहरूमा १ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ रहने छन्।
त्यसैगरी उपत्यकामा ७, कास्कीमा १, पश्चिम नवलपरासीमा १, बाँकेमा १ र कैलालीमा १ गरी जम्मा १२ वटा डिप ट्युवेल मनसुन प्रतिकार्यको लागि तयारी अवस्थामा राखिएको छ।
Shares

प्रतिक्रिया