स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन जडान गरी क्षयरोगको उपचार सुरु गराएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सोमबार क्षयरोग पहिचान गर्ने मोलिक्युलर टेस्ट मेसिन हस्तान्तर गरी क्षयरोगको उपचार सेवा सुरु गराएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ५० लाख रुपैयाँको लागतमा उक्त मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर लागि परिरहेको बताए।
‘क्षयरोगको यथासक्य छिटो निदान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय प्रतिबद्ध भएर कार्य गरिरहेको छ। अत्याधुनिक मेसिनले क्षयरोगको पहिचान गरी बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान दिने विश्वास हामीले लिएका छौं,’ मन्त्री पौडेलले भने।
सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग परीक्षणको सुविधा नहुँदा उपचारका लागि आउने बिरामीहरूले अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो। यस सेवाले सशस्त्र प्रहरीका कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारण नागरिकलाई समेत छिटो र भरपर्दो परीक्षण सेवा सुनिश्चित गर्नेछ।
कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारीले मोलिक्युलर टेस्ट मेसिनले दुई घण्टामा क्षयरोगको रिपोर्ट उपलब्ध हुने बताए।
नेपाल सरकारले क्षयरोग निदानलाई सहज र प्रभावकारी बनाउन देशभरका विभिन्न अस्पतालहरूमा क्षयरोग उपचार सेवा विस्तार गर्दै लगेको छ। हालसम्म देशका १२८ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरूबाट यो सेवा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया