समाज


जेनजीका अगुवा ठगीका अभियुक्त, अख्तियारदेखि क्यानसम्मका कर्मचारी धम्क्याउँदै

सुशीला कार्कीको शपथमा पुगेका थिए शीतलनिवास
जेनजीका अगुवा ठगीका अभियुक्त, अख्तियारदेखि क्यानसम्मका कर्मचारी धम्क्याउँदै

उजिर कार्की
असोज २८, २०८२ मंगलबार २१:८, काठमाडौँ

जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका व्यक्ति ठगीका अभियुक्त भएको खुलेको छ। 

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय अर्जुनबहादुर शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा उजुरी रहेको पाइएको छ। शाहीसहितको टोलीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर लफडा गरेका थिए। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विभिन्न आरोप लगाउँदै शाहीको टोलीले राजीनामा माग गरेका थिए। 

पछिल्लो समय यस्ता गतिविधिमा संलग्न शाही सुशीला कार्की प्रधानमन्त्री बन्दा शीतलनिवासमा जेनजीको अगुवा बनेर पुगेका थिए। सुशीलाले त्यतिबेला सुदन गुरुङसँगै शाहीसहितका जेनजीसँग एकसाथ हातमा हात मिलाएकी थिइन्। 

पीडितको लाखौँ रकम ठगेका आरोपित शाही भने सुशीलासँग शीतल निवास प्रवेश गरेपछि थप कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडिरहेका छन्। 

जेनजीका नाममा केही युवाहरूले विभिन्न कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने, राजीनामा माग्ने जस्ता गतिविधि बढाएका छन्। यस्ता गतिविधि गर्नेमध्ये अग्रभागमा देखिएका शाही वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने, चेक बाउन्स र बाख्रा चोर्ने मुद्दामा संलग्न रहेको फेला परेको छ। 

अछामकै तुलाबहादुर शाहीका तीनवटा बाख्रो चोरीमा समेत शाहीको संलग्नता भेटिएको छ। त्यसपछि परिवार र गाउँमा समेत उनको राम्रो सम्बन्ध नरहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

उनले सरकारी कार्यालयमा पुगेर कर्मचारीहरूलाई तत्काल राजीनामा दिन र नदिए घरबाटै थुत्दिन्छु भन्दै धम्क्याएका छन्। सार्वजनिक भएका भिडिओमा उनले अख्तियारमा र नागरिक उड्डयन प्राधिकरणमा यसरी धम्की दिएको भेटिएको छ।

नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पनि उनीहरूले धम्क्याएर राजीनामा दिन भनेका छन्। आफूले भनेकै ठाउँमा भेट्न बोलाएका उनीहरू त्यसपछि अख्तियारमा पुगेर लफडा गरेका छन्। 

सार्वजनिक भिडिओमा उड्डयन प्राधिकरणमा पुगेर उनीहरूले अधिकारीलाई र्‍याखर्‍याख्ती पार्न खोज्छन्। तर जे प्रश्न गरिरहेका छन्, ती विषय आफूसँग सम्बन्धित नभएको भन्दै अधिकारीले डटेर प्रतिप्रश्न गरेको सुनिन्छ। 

तिनै शाही अधिकारीसँगै बसेर टेबल ठोक्दै भन्छन्, ‘तपाईंले काम गर्न सक्नु भएन। छाड्नु पर्‍यो नि यो ठाउँ। राजीनामा दिनुस् तपाईं, स्वेच्छिक राजीनामा दिनुस्, गर्न सक्ने मान्छे आउँछ।’

‘त्यो पनि ठिक छ। सरकारले चाहन्छ भने मलाई त्यो पनि कुनै समस्या छैन,’ अधिकारी भन्छन्। 

तर काम गर्न नसक्नेले हात ठाडो पारेर राजीनामा दिन भन्दै शाहीको टोली धम्क्याउन छाड्दैन। 

शाही अधिकारीलाई सोध्छन्, ‘चारपाँच वटा विमान चलाएर सन्तुष्ट हुनुहुन्छ?’

अधिकारीले आफू सन्तुष्ट भएको र प्राधिकरण र विमान कम्पनी फरक भएको प्रस्ट्याउँछन्। जहाज किन्ने काम प्राधिकरणको नभएको भन्दै आफ्नो क्षेत्राधिकार बारे बताउँछन्। सम्बन्धित विभागले यसमा काम गरिरहेको बताएका अधिकारीलाई शाही फेरि भन्छन्, ‘गरेर हुँदैन रिजल्ट चाहियो।’

त्यसपछि पनि शाही प्राधिकरणको क्षेत्राधिकार बाहिरका प्रश्न गरिरहन्छन्। जहाज दुर्घटनाको दोष पाइलटलाई दिएको, मृत्यु भइसकेका पाइलटलाई दोष दिएको जस्ता तर्क गर्छन्। तर त्यसमा पनि अधिकारीले जहाज दुर्घटनापछि छानबिन समिति बन्ने र त्यसको प्रतिवेदनका आधारमा कारबाही हुने बताएका उनलाई त्यहाँका कर्मचारी समितिमा हुँदैनन् भन्ने जानकारी पनि रहेको पाइँदैन। तर उनीसहित केही युवा अधिकारीलाई थर्काउन छाड्दैनन्। 

त्यसअघि पनि उनीहरूले केही कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि उनीहरू अख्तियार पुगेका थिए। अख्तियारमा प्रहरीसहितको टोलीसँग उनीहरू वादविवाद गर्न थाल्छन्। 

प्रमुख आयुक्तसहित आयुक्तहरूलाई तत्काल भेट्न खोज्छन्। तर कर्मचारीले समय मिलेपछि भेट्न बोलाउने जवाफ दिन्छन्। त्यसपछि शाहीले टाइमको कुरै नगर्नुस् भन्दै मन्त्रालयमा पनि समय नलिई गएर भेटिरहेको बताउँछन्। 

शाहीमाथि मुद्दाका चाङ 
शाहीले यसअघि वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप लागेको भेटिएको छ। उनले वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवाले उजुरी दिएका थिए। प्रहरीले उनको उजुरीका आधारमा गएको वैशाखमा पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाएको थियो। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर विभागमा बुझाएपछि उनलाई विभिन्न प्रहरी कार्यालयले पनि झिकाएका थिए। तर उनले ती मुद्दा अझै सल्टाइनसकेको प्रहरी स्रोतको भनाइ छ। 

यस्तै प्रहरी वृत्त महाराजगन्जमा पनि उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो। एक युवतीले आफ्नो १० लाख ३० हजार रुपैयाँ शाहीले ठगी गरेको भन्दै २०८१ वैशाख २७ गते प्रहरीमा उजुरी दिएकी थिइन्। 

२०८१ पुस २३ गते पनि उनीविरुद्ध अर्को उजुरी परेको भेटिएको छ। बौद्ध प्रहरी वृत्तमा ७ लाख रुपैयाँको चेक बाउन्सको उजुरी उनीविरुद्ध परेको थियो। 

महाराजगन्ज वृत्तमा २ लाख रुपैयाँको चेक बाउन्सको अर्को जाहेरी पनि उनीविरुद्ध दर्ता भएको छ। स्वयम्भू वृत्तमा २०८२ वैशाख २३ गते अर्को उजुरी दर्ता भएको छ। एक महिलाले १० लाख रुपैयाँको चेक बाउन्सको उजुरी उनीविरुद्ध दिएकी थिइन्।

एक प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘अहिलेका गृहमन्त्रीले पक्राउ गरेका व्यक्तिलाई त छाड्न आदेश दिएका छन्। त्यसपछि हामीले जेनजी आन्दोलनमा पक्राउ परेकालाई जिम्मा जमानीमा छाडेका छौँ, मुद्दा त हामीसँगै छ। अब गृहमन्त्रीले नै अहिले पक्राउ नगर्नु भनेकाले हो। पछि फेरि पक्राउ गरेर कारबाही गर्नु पर्ने दिन आउँछ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad