समाज


विपिन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पनि विमानस्थल जाने

विपिन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पनि विमानस्थल जाने

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार ११:५७, काठमाडौँ

विपिन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की पनि आज (सोमबार) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएकी छन्।

कृषि पढ्न कञ्चनपुरबाट २ वर्षअघि इजरायल गएका जोशीलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरी गाजामा लगेर बन्धक बनाएको थियो। केही दिनअघि मात्र हमासले उनको मृत्यु भइसकेको जानकारी गराउँदै शव इजरायललाई सुम्पेको थियो।

त्यहाँबाट उनको शव आज काठमाडौँ ल्याइँदै छ। त्यस क्रममा विपिनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने उनको सचिवालयले जनाएको छ। 

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले विपिनको शव बुझ्न र श्रद्धाञ्जली व्यक्त गर्न आफूहरू आज दिउँसो त्रिभुवन विमानस्थल पुग्ने कार्यक्रम रहेको बताएका थिए। 

काठमाडौँ ल्याइसकेपछि विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

शव नेपाल पठाउनुअघि आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी विपिनलाई श्रद्धाञ्जली दिइएको थियो। 

रोयटर्सका अनुसार इजरायलको बेन गुरिओन विमानस्थलमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा इजरायली सरकारका प्रतिनिधि, तेल अभिभस्थित नेपाली राजदूतावासका अधिकारी, इजरेलमा कार्यरत नेपाली र हमास समूहद्वारा बन्धक बनाइएका व्यक्तिका परिवारका प्रतिनिधिलगायत सहभागी भएका थिए।

 

विपिन जोशीलाई श्रद्धाञ्जली दिन आइतबार इजरायलमा आयोजित कार्यक्रम।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाँसीका बासिन्दा विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कैलालीस्थित टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थीको टोलीमा २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

यसैबीच २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिए भने विपिन अपहरणमा परे। हमासले फालेको ‘ग्रिनेड’ फाल्दै साथी जोगाउने खोज्दा विपिनलाई हमासले बन्धक बनाएर गाजा पुर्‍याएको थियो।

किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे। विपिनको मृत्यु पुष्टि भएसँगै हमासको आक्रमणमा मारिने नेपालीको संख्या ११ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad