प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बालुवाटारमा आयोजना गरेको ‘काठमाडौँ उपत्यका मेयर्स फोरम’सँगको छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित भएका छन्।
कुनै जानकारी बिना नै मेयर बालेन कार्यक्रममा अनुपस्थित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँ उपत्यका मेयर्स फोरममा काठमाडौँ, ललितपुर र भक्तपुरका १६ वटा स्थानीय तहका प्रमुख आवद्ध छन्। यो फोरमको अध्यक्ष ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन छन्। काठमाडौँका मेयर बालेन शाह पनि फोरमको सदस्य छन्।
तर, उनी अहिलेसम्म फोरमले आयोजना गरेको एउटा मात्रै कार्यक्रममा सहभागी भएको रेकर्ड छ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार हिजोको छलफलमा पनि फोरममा आवद्ध सबै स्थानीय तहका प्रमुख र उपप्रमुखहरूलाई निमन्त्रणा गरिएको थियो। तर, कार्यक्रममा मेयर बालेन र उपमेयर सुनिता डंगोल दुवै उपस्थित भएनन्।
‘उहाँ (बालेन) किन कार्यक्रममा नआउनु भएको हो, जानकारी भएन,’ प्रधानमन्त्री कार्कीको सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘यो कारणले हामी कार्यक्रममा उपस्थित हुन नसक्ने भयौँ भन्ने जानकारी पनि पाएका छैनौँ।’
प्रधानमन्त्रीसँग सोमबार भएको छलफलमा सहभागी काठमाडौँको गोकेर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले बालेन सधैँ बिना कुनै जानकारी नै कार्यक्रममा अनुपस्थित हुने गरेको सुनाए।
फोरमले प्रत्येक डेढ-दुई महिनामा छलफल राख्ने गरेको छ। सबै पालिकाहरूमा त्यस्ता कार्यक्रम गर्ने नीति फाेरमकाे छ।
‘अहिलेसम्म फोरमले त्यस्ता १३ वटा छलफल राखिसकेको छ,’ रिसालले नेपालखबरसँग भने, ‘तर, मेयर बालेन हाम्रो नगरपालिकाले एक वर्षअघि आयाेजना गरेको छलफलमा मात्रै सहभागी हुनुभएको छ। अरु कुनै पनि कार्यक्रममा उहाँ सहभागी भएको जानकारी मलाई छैन।’

कतिपय नगरपालिकाले राखेका छलफलमा काठमाडाैँ महानगरकी उपमेयर सुनिता डंगोल छलफल भएकी छन्। ‘तर, हिजो प्रधानमन्त्रीले बोलाएको छलफलमा त सुनिताजी पनि देखिनु भएन। हामीलाई पनि किन उहाँहरू आउनु भएन भन्ने चासो त लागेको थियो, तर कसैलाई सोधेनौँ। प्रायः कुनै पनि कार्यक्रममा बालेनजी नआउने भएकाले पनि हामीलाई वास्ता लाग्दैन।’
फोरमले गर्ने सबै कार्यक्रममा बालेनलाई निम्तो भने पुग्ने गरेको उनले बताए।
‘उपत्यकाका सबै पालिकाको मुख्य समस्या फोहोर मैलाको व्यवस्थापन सम्बन्धमा छ। त्यसमा पनि मुख्य फोहोरको समस्या काठमाडौँ महानगरपालिकाभित्र छ,’ मेयर रिसाल भन्छन्, ‘त्यस्ता छलफलमा बालेनजी आउनै पर्ने हो। तर उहाँ आउनु हुन्न। किन नआएकाे हाे जानकारी पनि गराउनु हुन्न। उहाँसँग समन्वय नगरी काठमाडाैँमा फोहोर मैलाको समस्या समाधान गर्न गाह्रो छ। उहाँ किन कार्यक्रममा नगएको भन्ने पनि कुनै जानकारी आउँदैन। सचिवालयले पनि कुनै जानकारी गराउँदैन।’
‘गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा चाहीँ बालेन किन गएका थिए त?’ यो प्रश्नमा मेयर रिसालले भने, ‘उहाँसँग मेराे व्यक्तिगत सम्बन्ध पनि राम्रो छ। त्यही भएर पनि हुनसक्छ।’
गत वर्ष गोकर्णेश्वर नगरपालिकाले कार्यक्रममा उपस्थितिका लागि बालेनलाई निमन्त्रण पठाउँदा उनले मेयर रिसालसँग छलफलका एजेण्डा मागेका थिए।
‘त्यतिबेला हामीले भर्खरै जापानबाट फोहोर-मैला जलाउने ‘इन्टिनेटर’ मेसिन ल्याएका थियौँ,’ विगत सम्झिँदै मेयर रिसालले भने, ‘मैले निमन्त्रणा गर्दा बालेनजीलाई यो मेसिनको विषयमा पनि जानकारी गराएँ। उहाँले ल तपाईँको एजेण्डा ठिक छ, म आउँछु भन्नु भएको थियाे।’
त्यतिबेला बालेनले त्यो मेसिनको विषयमा बुझ्नको लागि पनि आउँछु भन्दै मेयर रिसाललाई खबर पठाएका थिए।
‘हाम्रो कार्यक्रममा उहाँ झण्डै दुई घण्टा नै बस्नुभयो। पूरै छलफलमा सहभागी हुनुभयो,’ रिसालले भने, ‘त्यसपछि मेराे फोनमा उहाँसँग २/३ पटक कुरा भएको छ। तर, प्रत्यक्ष भेटघाट भने भएको छैन।’

हिजो प्रधानमन्त्रीले बोलाएको छलफलमा ११ जना मेयर, ७ जनाउपमेयर सहभागी थिए।
छलफलमा सहभागी स्थानीय तहका प्रमुखहरूले पछिल्लो समय रोकिएका संघीय सरकारका योजना, सहरी विकास र भौतिक पूर्वाधार योजनाका काम र बजेटलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन्।
छलफलमा आफूले विशेषगरि नेपाल ट्रस्टको जग्गाको सम्बन्धमा कुरा राखेको मेयर रिसालले बताए।
‘गोकर्णेश्वरमा नेपाल ट्रस्टको निकै जग्गा छ। त्यसबाट एकसय मिटर २० फिटजति जग्गा पाए हाम्रो क्षेत्रमा ट्राफिक जामको समस्या हट्ने थियो। मैले यस सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु,’ उनले भने।
काठमाडौँ उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीले गरिन् छलफल
Shares

प्रतिक्रिया