समाज


आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोष, धिपधिपे आशा बोकेर ७० दिनदेखि अस्पतालमै

निर्मलाको रोदन : जहाँ लगेर भए पनि मेरो श्रीमानलाई आँखा देख्ने बनाइदिनुस्
आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोष, धिपधिपे आशा बोकेर ७० दिनदेखि अस्पतालमै

आयुषा ढकाल
मंसिर ९, २०८२ मंगलबार ९:१९, काठमाडौँ

त्यो दिन निर्मला खड्का पसलमै थिइन्। उनी सुर्खेतको धमला चोकनजिकै सानोतिनो पसल गर्छिन्।

भदौ २४ गते अपराह्न ४ बजे उनलाई एउटा नयाँ नम्बरबाट फोन आयो। फोनमा अपरिचित आवाजले भन्यो, ‘तपाईंको मान्छेलाई सामान्य चोट छ। अहिले अस्पतालको इमर्जेन्सीमा राखेको छ। अस्पताल आउनू।’

उनले आत्तिएर श्रीमानलाई फोन गरिन्। तर, लागेन। उनी झनै आत्तिइन्।

अघिल्लो दिन राजधानीमा जेनजी आन्दोलनमा प्रहरीले विद्यार्थीहरूलाई गोलीले भुटेको देखेर उनका श्रीमान् सन्तोष बोहोरा निकै मुर्मुरिएका थिए। सामाजिक सञ्जालमा कलेज ड्रेस लगाएका घाइते विद्यार्थीहरूको भिडिओ देखेर उनको आक्रोशले सीमा नाघेको थियो।

त्यसैले भोलिपल्ट उनी घरमा बसिराख्न सकेनन्। दिउँसो करिब १२ बजेतिर घरनजिकैको धमला चोकको प्रदर्शनमा जाने भन्दै उनी निस्किएका थिए।

निर्मलाको माइतीमा भने सन्तोषलाई गोली लागेको कुरा थाहा भइसकेको थियो। बहिनीले उनलाई फोन गरेर भनिन्, ‘भिनाजुलाई त गोली लागेको छ रे, बाँच्नु पनि भको छ कि छैन थाहा छैन।’

निर्मला छाँगोबाट खसेझैँ भइन्।

नभन्दै खबर सत्य थियो। दिउँसो २ बजे नै उनलाई गोली लागिसकेको थियो। उनको देब्रे आँखामा लागेको गोली दाहिने कन्चटबाट निस्केको थियो।

सन्तोषलाई गोली लागेपछि साथीहरूले उनलाई सुर्खेत प्रदेश अस्पतालमा पुर्‍याएका थिए। सो अस्पतालमा २ घण्टा राखेपछि स्थिति गम्भीर देखेर उनलाई नेपालगन्जको सञ्जीवनी मेडिकल कलेज रिफर गरिएको थियो।

नेपालगन्जमा सन्तोषको ५४ दिन उपचार गरिसकेपछि उनलाई काठमाडौँ महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा रिफर गरियो। कात्तिक १४ गतेदेखि उनी टिचिङमै उपचाररत छन्।

सन्तोषको देब्रे आँखाबाट छिरेको गोलीले दुवै आँखा फुटाएको छ। उनको दुवै आइबल पूर्ण रूपमा ड्यामेज भएको उनको उपचार गरिरहेका डा सन्दीप बोहोरा बताउँछन्। 

त्रिवि शिक्षण अस्पतालको आँखा विभागले उनको आँखाको ज्योति फिर्ता ल्याउन नसकिने बताइसकेको डा सन्दीपले बताए। तर घाउ ठिक भएपछि आँखा देख्ने सम्भावना छ कि भनेर पुनः परीक्षण गरिने उनको भनाइ छ। 

उनका अनुसार टिचिङमा ल्याएपछि सन्तोषको टाउकोको एकभागको हड्डीलाई निकालेर सो स्थानमा आर्टिफिसियल हड्डी राखिएको छ। गोली निस्किएको ठाउँ (दायाँ कन्चट) को घाउमा पानी देखिएकाले हाल सन्तोषको घाउमा ड्रेसिङ गरिराखिएको छ। घाउ ठिक हुँदै गइरहेको र ठिक भएपछि न्युरोसर्जरी वार्डबाट उनलाई डिस्चार्ज गरिने चिकित्सकको भनाइ छ।

आँखासँगै टुटेको परिवारको सपना
सन्तोषको परिवार जुम्लाबाट सुर्खेत झरेको हो। पुर्ख्यौली घर जुम्ला भएकोले कहिलेकाहीँ खेतीपाती हेर्न सन्तोषका बुवा जुम्ला पनि पुग्छन्।

सन्तोषको ६ वर्षअगाडि निर्मलासँग विवाह भएको थियो। हाल उनीहरूकी ४ वर्षीया छोरी छिन्। निहारिका आफ्नो बाबा कहिले ठिक भएर घर फर्कनुहुन्छ भन्ने पर्खाइमा छिन्। ७० दिनभन्दा बढी भइसक्यो, न त निहारिकाले आफ्नो बाबालाई देख्न पाएकी छन्, न आमालाई भेट्नै। 

सन्तोषले विदेशमा गएर पैसा कमाएपछि नयाँ ढलान घर बनाउने भनेको कुरा उनी सम्झिन्छिन् र आमालाई सोध्छिन्, ‘मामु अब हाम्रो नयाँ घर कसले बनाउँछ? बाबालाई कहिले निको हुन्छ?’ 

उनको प्रश्नको जवाफ निर्मलासँग छैन। सन्तोषको आँखाको ज्योतिसँगै निर्मलाले सहारा र निहारिकाले सपना गुमाएका छन्।

बाबालाई गोली लागेको सुनेदेखि चार वर्षकी अबोध बालिकालाई प्रहरीप्रति नकारात्मक छाप परेको छ। उनी भन्छिन्, ‘मेरो बाबालाई पुलिसले गोली हानेछ। म बजारमा गएर बन्दुक किनेर बजारभरिको पुलिसलाई गोली हान्दिन्छु!’ 

सन्तोष पहिले दुई वर्ष माल्दिभ्स बसेर फर्किएका हुन्। उनी क्रोएसिया जाने तयारीमा थिए। 

निडर व्यक्तित्व र चन्चल स्वभाव भएका सन्तोष आँखा गुमेदेखि मौन छन्। उनी बोल्न रुचाउँदैनन्। केही कुरा सोध्दा उनी बोल्न खोजेझैँ गर्छन् तर आवाज निस्किँदैन। डाक्टरले सन्तोषलाई धेरै प्रश्न नगर्न र उनको छेउमा चिन्ताजनक कुरा नगर्न भनेका छन्।

‘खासै बोल्नुहुन्न। चिन्ता मान्नुहुन्छ। एउटा आँखाबाट आँसु झारिरहनुहुन्छ,’ निर्मलाले सुनाइन्।

सोहीकारण प्रधानमन्त्री, गृहमन्त्री भेट्न आउँदा पनि उनी खास बोलेनन्। तर, सुदन गुरुङ भेट्न आएको दिन उनले आफ्नो कुरा खुलेर राखे।

‘मलाई जता लगेर भए पनि आँखा देख्न सक्ने बनाइदिनू, म देशको लागि अझै पनि लड्न तयार छु,’ उनले भने।  

‘सुर्खेतमा म एक जनालाई मात्रै किन पुलिसले गोली हान्यो? म मात्रै किन घाइते भएँ?’ सन्तोषले सुदनलाई भने, ‘मलाई गोली हान्ने त्यो प्रहरीलाई समात्नू। मेरो आँखा विदेश लगेर भए पनि बनाइदिनू। म अझै पनि देशको लागि लड्ने हो।’ 

आफू र आफ्ना परिवारलाई लिएर सन्तोषका धेरै सपनाहरू थिए। उनी आफ्नो परिवारलाई नयाँ घरमा राख्न चाहन्थे। तर उनको परिवार आज माटोको पुरानो घरमा टिनको छानोमुनि सन्तोषको पीरमा आँसु बगाइरहेको छ। 

उनलाई आफ्नो घरमाथिको ठूलो गरामा क्याफे खोल्नु थियो। तर पैसा नभएकोले केही वर्ष विदेशमा काम गरेर नयाँ घर बनाउने र क्याफे खोल्ने सपना थियो।

सरकारबाट जम्मा २० हजार सहयोग
सन्तोष घाइते भएदेखि निर्मला सन्तोषको रेखदेख र हेरचाहमा नै लागेकी छिन्। सन्तोषकी आमा आफ्नो लक्का जवान छोराको यस्तो स्थिति देखेर दिनरात रुन्छिन्। उनका बुवा चिन्ताले आधा ज्यान भइसकेका छन्। 

सन्तोषलाई नेपालगन्जको अस्पतालमा राख्दा नै ५–६ लाख पैसा खर्च भइसकेको र सरकारको तर्फबाट हालसम्म मात्र २० हजार रूपैयाँ सहयोग पाएको निर्मलाले बताइन्। नेपालगन्जमा हुँदा अस्पतालमा आँखासँग सम्बन्धित सबै औषधिहरू नपाइने हुनाले बाहिरबाट आफ्नै खर्चमा ल्याउनु परेको उनको भनाइ छ।

निर्मलाले लागेको खर्चजतिको बिल जम्मा गरेर राखेकी थिइन्। तर, आफ्नो त्यो झोला नेपालगन्ज अस्पतालबाटै चोरी भएको उनको भनाइ छ।

काठमाडौँमा सरकारले सन्तोषको निशुल्क उपचारको व्यवस्था त गरिदिएको छ तर बिरामीलाई खुवाउने फलफूल, तागतिला खाना, आफ्नो खर्चसमेत गर्दा निकै खर्च हुने निर्मला बताउँछिन्।

उनीहरू अस्पताल बसेकै ७० दिन बितिसकेको छ। निर्मलालाई एउटै चिन्ता छ, श्रीमानले आँखा देख्छन् कि देख्दैनन्।

सोहीकारण उनले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि एउटै माग राखेकी छन्, ‘मेरो श्रीमानको आँखा जता लगेर भए पनि देख्ने बनाइदिनुस्, अरु हामीलाई केही चाहिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad