समाज


तीन वटा कक्षाका सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जन गरिँदै

तीन वटा कक्षाका सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जन गरिँदै

नेपालखबर
पुस ५, २०८२ शनिबार १२:४३, काठमाडौँ

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८, र १० को सामाजिक विषयको पुस्तक परिमार्जन गर्ने काम सुरु भएको बताएका छन्। 

सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले शनिबार राजधानीमा आयोजना गरेको बालबालिका पाठयक्रम र पाठ्यपुस्तकबीचको तादम्यता विषयक अन्तरक्रियामा बोल्दै पौडेलले परिमार्जन भएका तीनै कक्षाका पुस्तक २०८४ सालदेखि कार्यान्वयनमा लगिने जानकारी दिए।

पाठ्यपुस्तक लेखिँदा सरोकारवालासँग छलफल गरिनुका साथै लेखकहरूलाई अभिमुखीकरण गरिने र विविधताबीच एकता खोजिने उनको भनाइ थियो। पाठ्यपुस्तक लेखिँदा राष्ट्रियताको भाव बढोत्तरी गर्न नागरिकको भूमिका तथा असल समाज निर्माण जस्ता विषयमा ध्यान दिइने गरेको पौडेलले बताए। 

कार्यक्रममा शिक्षा पत्रकार समूहका तर्फबाट अहिले विद्यार्थीले पढ्दै गरेका पाठ्यपुस्तकको अध्ययन गरि पुस्तकहरू बालबालिकामैत्री छन् कि छैनन्, पाठ्यपुस्तकमा भएका विषयवस्तुहरू लैंगिकमैत्री छन् कि छैनन्, अपांगता तथा यौनिक अल्पसंख्यक समुदायलाई कसरी सम्बोधन गरिएको छ, भाषाको प्रयोग कसरी गरिएको छ भनेर सुक्ष्म अध्ययन गरि प्रस्तुतिकरण गरिएको थियो। 

कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी समाज भएकाले समाजको प्रतिनिधित्व कक्षाकोठामा हुने गरेको र पाठ्यसामग्री बनाइँदा दक्षता र विज्ञता भएका व्यक्तिबाट नै  विभिन्न चरण पार गरेर बनाइने गरेको जानकारी दिए। पाठ्यपुस्तकका हरेक पाठलाई समावेशीकरण गर्ने प्रयास गरिएको उनको भनाइ थियो। 

सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम डेभलपमेन्ट एन्ड क्वालिटी एडभाइजर डा. लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच रहेको खाडलको चर्चा गर्दै कार्यान्वयन तहमा पनि समस्या रहेको बताए। साथै पाठ्यपुस्तकले विद्यालय र घरलाई जोड्न नसकेको तर्क उनको थियो। पाठ्यपुस्तकमा भएको ‘ग्याप’ पूरा गर्न त्यसको परिपूरक पाठ्यसामग्री बनाउन सकिने उनको भनाइ थियो। 

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पाठ्यक्रम र पाठ्यपुस्तक दुवै परिवर्तन गर्न सकिने भएकाले पाठ्यपुस्तक बनाउनुअघि समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूको सूची तयार पारिनु पर्ने बताए। 

शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट आएका सुझावलाई पाठ्यसामग्री बनाउँदा उपयोगी बन्न सक्ने भएकाले सहभागीको सुझावसहितको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad