समाज


आहा ढकमक्क एन्जेलिया!

आहा ढकमक्क एन्जेलिया!

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १०:७, इलाम

ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल। सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन्। सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो।

‘सबै फूल एकैपटक फूल्दा त शृङ्गारिएकी बेहुलीजस्तै धपक्क बल्दोरहेछ। म त उत्तै बसिरहुँ लाग्यो’, पोखराबाट आएकी शारदा सुवेदीले भनिन्, ‘पर्यटक लोभिँदा रहेछन्। अलिकति बाटोचाहिँ बनाउनै बाँकी रहेछ।’

वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फूल हो एन्जेलिया। यो क्षेत्रमा करिब पाँच हजार एन्जेलियाका बोटहरू छन्। याममा नेपाल, भारत, बङ्गलादेश र भुटानका पर्यटकले गुफापाताल भरिभराउ हुन थालेको छ।

‘फोटो खिच्न, भिडियो बनाउनमात्र होइन यहाँबाट देखिने सूर्योदय, सूर्यास्त हेर्न, हिमशृङ्खला नियाल्न र इलाम, पाँचथर, तेह्रथुम, झापासहित भारत पश्चिम बङ्गालका सिक्किम, दार्जिलिङ लगायतका पर्यटकीय ठाउँ अवलोकन गर्न पनि पर्यटक आइपुग्छन्,’ गुफापाताल पर्यटन समितिका सचिव विजय लावतीले भने, ‘नेपालका पर्यटक पनि भारत भएर धेरै आउँछन्। भारततिरका पर्यटकलाई यहाँ आउन सजिलो छ।’

तीन किलोमिटिर सडक कच्ची भएका कारण नेपालपट्टिको बाटो पर्यटकलाई असहज भएको हो तर ढुङ्गाको सोलिङ गरिएको छ। पहाडमा ड्राइभिङ नगरेका पर्यटकलाई मात्र असजिलो हो। मेची राजमार्ग छोडेर फिक्कल छिपिटारबाट श्रीअन्तु रोडतिर लाग्दा आधा घण्टामा छिरुवाचोक पुगिन्छ। त्यहाँबाट अन्तु रोड छोडेर सिधैँ उत्तर लाग्दा करिब छ किलोमिटरमा गुफापाताल छ। सीमाक्षेत्र पशुपतिनगरबाट भारत भएर मेची बजार हुँदै कालोपत्रमै गुफापाताल निस्किन सकिन्छ।

‘दुई हजार ६०० मिटर सडक कालोपत्र सकिएको छ। अब, तीन किलोमिटर सडक निर्माण सकिँदा गुफापातालसम्म कालोपत्र पुग्छ,’ वडाध्यक्ष सरन राईले भने, ‘यहाँ वनावटिपन केही छैन। सबै चिज प्राकृतिक हो। चिसो हावा, फूलहरूको सुगन्ध र सुन्दर दृश्यावलोकन गर्न सकिने भएकै कारण पर्यटक आकर्षित भइरहेका छन्। पूर्वाधार विकास पनि भइरहेको छ।’

यो सीमा क्षेत्र हो। यहाँ नजिकै मेची नदीको मुहान छ। भारत र नेपालको सीमामा रहेको मेची नदीको मुहानमा स्थानीयले पूजा गर्छन्। वर्षौँदेखि स्थानीयले सीमारक्षा गर्दै आएको वडाध्यक्ष राईले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad