समाज


यस वर्ष बर्खामा वर्षा कम, गर्मी बढी हुने सम्भावना छ: मौसम विभाग

यस वर्ष बर्खामा वर्षा कम, गर्मी बढी हुने सम्भावना छ: मौसम विभाग

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १४:०, काठमाडौँ

यस वर्ष मनसुन अर्थात् बर्खामा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागको जलवायु विज्ञान महाशाखाले शुक्रबार (वैशाख २५ गते) जारी गरेको प्रक्षेपणअनुसार यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको हो। 

विभागले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ। अर्थात् गर्मी बढी हुने सम्भावना देखिन्छ।’

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। तर ठ्याक्कै यही मितिमा नभई केही दिन अघि वा पछि नेपालमा मनसुन प्रवेश गर्ने गरेको छ। 

मौसम विभागका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ सम्म ४ महिना मनसुन अर्थात् बर्खायामको अवधि हो। नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। तर यो पनि केही दिन अघि पछि हुन्छ। 

यस वर्ष मनसुनमा यस्तो छ वर्षाको सम्भावना 

मौसम विभागका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।

त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।

अधिकतम तापक्रमको आकलन 
यस वर्ष मनसुनमा अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तरपूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेश पश्चिमि भूभाग, मधेस प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोसी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रमभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ।

कोसी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।

न्यूनतम तापक्रमको आकलन
 यस वर्ष बर्खामा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ।

जसअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका उत्तरी भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ।

कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका दक्षिणी भूभाग, मधेस प्रदेशका मध्य भूभाग र कोसी प्रदेशका मध्य तथा उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।

आकलनका आधार

विभागले उक्त प्रक्षेपण विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलन र साउन एसिएन सिजनल क्लाइमेट आउटलुक फोरम (एसएएससीओएफ) को आकलनका आधारमा तयार गरेको हो।

साथै नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकास हुने ईआई निनो एन्ड साउदर्न अस्किलेसन (ईएनएसओ) तथा हिन्द महासागरमा विकास हुने इन्डियन ओसिएन डाइपल (आईओडी) को हालको अवस्था तथा जलवायु प्रारूपहरूको मनसुन ऋतुको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि-मनसुनको ऋतुमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत ध्यान दिइएको छ। 

हाल प्रशान्त महासागरमा ईएनएसओ तटस्थ (न्युट्रल) अवस्थामा रही ईआई निनो अवस्थातर्फ उन्मुख रहेको साथै हिन्द महासागरमा विकास हुने आईओडी हाल तटस्थ अवस्थामा रहेको र आगामी मनसुन ऋतुको अन्त्यसम्ममा धनात्मक अवस्थामा पुग्ने विश्वव्यापी प्रारूपहरूको आकलन पनि छ। यद्यपि ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भूउपयोगजस्ता कुरामा निर्भर हुने र जलवायु प्रारूपहरूलाई यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने तथ्य मनन गर्नुपर्ने मौसम विभागको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad