आज (शनिबार) काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा छिटपुट र हल्का खालको वर्षा हुने सम्भावना देखिएको हो।
‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना हुँदै नभएको चाहिँ होइन’, उनले आज बिहान नेपालखबरसँग भने, ‘तर सम्भावना कम छ भने वर्षा पनि कम नै हुने सम्भावना छ।’
उनले थपे, ‘त्यस्तो लगातार र ठुलो वर्षा हुने सम्भावना छैन, हल्का/छिटपुट वर्षा हुने सम्भावना छ।’
मौसमविद् ढकालका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ।
‘दिउँसोतिर बादल बढ्दै जान्छ तर दिनभर बादल नै बादल हुँदैन, बिचबिचमा घाम पनि देखिन सक्छ’, उनले भने।
देशभरिको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे बुलेटिन जारी गर्नेछ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
Shares

प्रतिक्रिया