समाज


प्रेम राईविरुद्ध प्रदीप अधिकारीले लगाए भारतमा तन्त्रमन्त्र, मानेनन् फरेन्सिक रिपोर्टमा सनाखत गर्न

प्रेम राईविरुद्ध प्रदीप अधिकारीले लगाए भारतमा तन्त्रमन्त्र, मानेनन् फरेन्सिक रिपोर्टमा सनाखत गर्न

उजिर कार्की
बैशाख ३०, २०८३ बुधबार २२:११, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक प्रदीप अधिकारीले आफूविरुद्ध भ्रष्टाचारको कसुरमा अनुसन्धान अगाडि बढाएपछि अख्तियार प्रमुख प्रेमकुमार राईलगायतविरुद्ध भारतमा तान्त्रिक लगाएको खुलेको छ।

अख्तियार प्रमुख राई, आयुक्तहरू सुमित्रा श्रेष्ठ अमात्य र आयुक्त किशोरकुमार सिलवालविरुद्ध पनि भारतमा जगदम्बे गुरुलाई पूजा गर्न लगाएको खुलेको छ। अधिकारीले वाट्सएपमार्फत उनीहरूका फोटो पनि भारतीय तान्त्रिकलाई पठाएका थिए। 

यस्तै उनले आफ्नै कार्यालयका सहकर्मीहरूको भलो नहोस् भन्दै पूजाका लागि धर्मगुरु समक्ष पठाएका छन्। क्यानमा कार्यरत देवचन्द्रलाल कर्ण, जगन्नाथ निरौला, हंसराज पाण्डे, प्रेमनाथ ठाकुर र प्रतापबाबु तिवारीको पनि फोटो पठाएर झारफुक, पूजापाठ तथा तन्त्रमन्त्र विधिबाट हानिनोक्सानी (चमाटा) गराउन भनेको पाइएको हो।

‘यह ६ आदमी है, सबका चमाटा लगाना पडेगा,’ अधिकारीले  वाट्सएपमा जय जगदम्बे मित्रुजी नाम गरेका तान्त्रिकलाई हिन्दी भाषामा पठाएको मेसेजमा लेखिएको छ।

अधिकारीले प्रयोग गर्ने मोबाइल नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गर्दा यी प्रमाण फेला परेका हुन्। २०२५ डिसेम्बर २ मा भारतमा प्रदीप अधिकारीको नाम लिई पूजापाठ गरेको भिडिओ समेत उनलाई पठाएको पाइएको छ। 

‘वह दुष्ट आदमी प्रेमकुमार राई है, उसे गिरफ्तार करना चाहिए। वह अपराधी और भ्रष्ट है’ लेखेर उनले प्रमुख आयुक्त राईको फोटो पठाएका थिए। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरुद्ध नलिनचोक हेलिपोर्ट निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दा अगाडि बढाएको थियो। 

आफूविरुद्धको मुद्दा अगाडि बढाएपछि अधिकारीले अख्तियारलाई रोक्न अनेक जुक्ति लगाएका थिए। अर्का प्रतिवादी प्रकाश पाठकलाई २ करोड रूपैयाँ दिएर अख्तियार प्रमुखलाई धम्क्याएको समेत पुष्टि भएको छ। प्रतिवादी पाठकले १० करोडको डिल भए पनि आफूले २ करोड लिएको बयानमा स्वीकार गरेका छन्। 

अधिकारीले भने आफ्नो बयानमा सबै आरोप अस्वीकार गरेका छन्। फरेन्सिक ल्याबबाट पुष्टि भएर आएको रिपोर्टमा पनि उनले सनाखत गर्न अस्वीकार गरेका छन्।

पाठकले अधिकारीसँग कुरा भए अनुसार अख्तियार प्रमुखलाई इमेलमार्फत पठाएको पत्र नै अधिकारीलाई देखाएर मात्रै पठाएको भनेका छन्। तर कसैलाई पनि धम्कीपूर्ण पत्र पठाउन नलगाएको अधिकारीको जिकिर छ। उनले यो मुद्दाको बयानमा बोलाउँदा आफू मर्माहत भएको बताएका थिए। 

फरेन्सिक ल्याबमा पठाएका मोबाइल आफ्नै भएको स्वीकार गरेका उनले परीक्षणबाट आएको प्रतिवेदनमा भने सनाखत गर्न अस्वीकार गरेका छन्। आफूले अख्तियारमा पासवर्डसहित फोन बुझाएकाले डेटा परिवर्तन भएको हुनसक्ने उनको भनाइ छ।

यस्तै उनले बयानका क्रममा धार्मिक गुरुहरूलाई पठाएका म्यासेज र फोटोहरू पनि आफूलाई सहयोग गरेकाले भलो चिताएर पठाएको जिकिर गरेका छन्। चमाटा शब्द हानि नोक्सानी पुर्‍याउने अर्थमा प्रयोग गरेको नभई पूजा पाठ गरिदिनु भन्ने अर्थमा प्रयोग गरेको दाबी उनको छ। 

अख्तियारका आयुक्त सिलवालको फोटो पठाउनुमा उनको नाममा पूजापाठ गरी आफूप्रति सकारात्मक विचार राखून् भन्ने उदेश्य रहेको दाबी उनको छ। यस्तै प्रेमकुमार राईको फोटो पठाए पनि उनको हानिनोक्सानी पुर्‍याउने कार्य नगरेको दाबी उनले बयानमा गरेका छन्। अन्य आयुक्तहरू पनि आफूसँग रिसाएकाले सकारात्मक सोचून् भनेर पूजापाठका लागि फोटोहरू पठाएको अधिकारीले अनुसन्धानका क्रममा भनेका छन्। 

‘यस्ता व्यक्तिगत गोपनीयताका विषयहरू मेरो मोबाइल खोसी हेरिनु शक्तिको दुरूपयोग समेत हो,’ अधिकारीले बयानका क्रममा असन्तुष्टि जनाए।

अख्तियार प्रमुख प्रेमकुमार राईसहितको ज्यान लिने धम्की दिएको आरोपमा अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ। मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीको निर्देशन बमोजिम धम्की दिने काभ्रेका प्रकाश पाठक र झापाका ताराप्रसाद खरेलविरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको हो। 

उनीहरूविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ। 

प्रदीप अधिकारीले नलिनचोक हेलिपोर्टको भ्रष्टाचारमा अख्तियारले अनुसन्धान अगाडि बढाएपछि राईलाई राजीनामा दिन बाध्य पार्न भन्दै पाठकलाई दुई करोड रूपैयाँ दिएर धम्की दिएको खुलेको छ। 

अधिकारीले अख्तियार प्रमुख प्रेमकुमार राईलाई धम्की दिएर राजीनामा दिन बाध्य पारे आफूले ८ देखि १० करोड रूपैयाँ दिने कबुल गरेको पाठकले बयान दिएका छन्। कबुल गरेको रकममध्ये २ करोड रूपैयाँ लिइसकेको पनि पाठकले बयानमा खुलाएका छन्। 

२०२५ नोभेम्बर २९ मा इमेल गर्दै पाठकले अख्तियार प्रमुख राईलाई १० दिनभित्रमा राजीनामा दिन र नदिए ज्यान लिने धम्की दिएका थिए। तर अख्तियार प्रमुख राईले आफूलाई आएको धम्कीका विवरणसहित प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान अगाडि बढाएको थियो। पाठकलाई इन्टरपोलकै सहयोगमा फिलिपिन्सबाटै पक्राउ गरेर ल्याइएको थियो। 

अधिकारी र पाठकबीचको चिनजान भने पुरानै रहेको खुलेको छ।

नेपालको अतिवादी समूह नामको संगठनको अध्यक्ष बताउँदै पाठकले अख्तियार प्रमुखलाई धम्कीपूर्ण पत्र पठाएका थिए। अधिकारीले यति काम गरिसकेपछि पाठकलाई फिलिपिन्समै हुण्डीमार्फत २ करोड रूपैयाँ पठाएको पाइएको छ। 

अख्तियार प्रमुख राईले राजीनामा नदिएपछि पाठकले भिडिओ बनाएर धम्की दिएका थिए। जुन भिडिओ उनले फिलिपिन्समै बसेर तयार गरेका थिए। 

पाठकले अख्तियार प्रमुख राईलाई मार्ने आफ्नो उदेश्य नभए पनि अधिकारीले रकम दिने आश्वासन दिएकाले यो काम गरेको बयान दिएका छन्। यसको डिजाइन, योजना र षड्यन्त्र अधिकारीले नै गरेको उनले बताएका छन्। 

प्रदीप अधिकारीले पाठकलाई भन्दा पहिले अख्तियार प्रमुखलाई धम्की दिनु भनी अर्जुन शाहीलाई लगाएको तर शाहीले गर्न नसकेपछि पाठकलाई लगाएको खुलेको छ। ८ देखि १० करोडको डिल अधिकारीले भारतीय नम्बरको वाट्सएपमार्फत गरेका थिए। 

अधिकारीले दिएको ८० लाख (२ करोड नेपाली) मध्ये पाठकले ७० लाख ६५ हजार पेसोमा फिलिपिन्समै अपार्टमेन्ट खरिद गरेका थिए। उनले खरिद गरेको अपार्टमेन्ट भने अहिलेसम्म पनि उनको नाममा आइसकेको छैन।

यस्तै अधिकारीले प्रेम राईलाई मोसो दल्न समेत लगाएको पाठकको दाबी छ। यसरी अख्तियार प्रमुखलाई मोसो दले तत्काल २ करोड दिने भनेको पाठकको बयान छ। अरु रकम पछि दिने भनेको उनले खुलाएका छन्। पाठकलाई प्रयोग गरेका अधिकारीविरुद्ध भने अख्तियारले नलिनचोक हेलिपोर्ट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दामा पुर्पक्षका लागि उनी हाल कारागारमा छन्। 

अन्य केही व्यक्तिको समेत संलग्नता देखिएको बताएको प्रहरीले उनीहरूलाई भने प्रतिवादी बनाएको छैन। अख्तियार प्रमुखलाई धम्क्याएको मुद्दामा पाठकसहितको भने जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा थुनछेकको पेसी तोकिएको छ। बुधबार सुनुवाइ नसकिएकाले बिहीबारलाई हेर्दाहेर्दैमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad