समाज


आफ्नो घरमा कुरुवा राखेर अरूका घर फोड्दै हिँड्थे प्रेम, चोरेरै किने घर-गाडी

प्रहरीले हान्यो गोली, अदालतले पठायो जेल
आफ्नो घरमा कुरुवा राखेर अरूका घर फोड्दै हिँड्थे प्रेम, चोरेरै किने घर-गाडी

उजिर कार्की
जेठ १२, २०८३ मंगलबार २२:२२, काठमाडौँ

बाँकेको राप्ती सोनारी गाउँपालिका ३ बेलासपुरका ४१ वर्षीय प्रेम थारु मंगलबार जेल चलान भएका छन्। चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामचन्द्र खड्काको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

उनी काठमाडौँको बौद्धस्थित एक घरबाट एक करोड २१ लाख ६ हजार ८०० मूल्य बराबरको सुनका गहना चोरीको आरोपमा २०८२ माघ २१ गते राति पक्राउ परेका थिए। उनलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो। उनको दाहिने खुट्टामा गोली लागेको छ। बौद्धको घरबाट चोरिएका सबै सामान पनि प्रहरीले बरामद गरेको छ। 

गत माघ २० गते दिउँसो बौद्धको पाँचतले घरमा उनले दिउँसै चोरी गरेका थिए। तीन तलासम्म भाडामा लगाएर घरबेटी चौथो र पाँचौँ तलामा बस्थे। तर उनी दिउँसो साढे १२ बजेतिर खाना खान पाँचौँ तलामा जाँदा चौथो तलामा ताला लगाएका थिएनन्। 

आधाघण्टापछि उनी फर्किँदा कोठामा भएको दराज फोडेर सबै गहना चोरीएको थियो। पछि सीसीटीभी हेर्दा १२ बजेर ११ मिनेटमा कोठामा प्रवेश गरेका प्रेमले १२ बजेर १९ मिनेटमा सबै रित्याएर बाहिरिएको देखिएको थियो।  

यो घटनामा अनुसन्धान गर्दै जाने क्रममा प्रहरीले उनको अथाह सम्पत्ति रहेको पनि पत्ता लगायो। ती सबै सम्पत्ति आफूले चोरी गरेरै किनेको बयानमा खुलाएका छन्। प्रेमले यसअघि पनि वर्षौँदेखि विभिन्न ठाउँमा चोरी गरेको बयान दिएका छन्। तर कहाँ कहाँ चोरी गरेको भन्ने उनलाई नै याद छैन। 

यसरी अरुका घर फोड्दै हिँडेका प्रेमले आफ्नो घरमा रेखदेख गर्न भने कर्मचारी राखेको खुलेको छ। बाँकेको कोहलपुरमा रहेको घर रेखदेख गर्नका लागि मासिक १५ हजार दिएर एक जना कर्मचारी राखेको उनले बयानमा खुलाएका छन्। 

काठमाडौँ उपत्यकालाई चोरीको अखडा बनाएका थारु सितापाइला बस्दै आएका थिए। उनले चोरेरै घरजग्गा र गाडी खरिद गरेको भेटिएको छ। यस्तै बैंकमा पनि मौजदात भेटिएको छ। 

एभरेष्ट बैंकको बानेश्वर शाखाबाट उनले २ करोड ६२ लाख २८ हजार २९९ रुपैयाँको कारोबार गरेको फेला परेको छ। हाल मौज्दाद १६ लाख २४ हजार १९६ रुपैयाँ छ। 

बाँकेको रेसुङ्गा डेभलपमेन्ट बैंकमा १२ हजार ७१३, नबिल बैंकको दुवाकोट शाखामा २ लाख ३४ हजार ६१ फेला परेको छ। उनको साथबाट र घरकोठाबाट प्रहरीले एक करोड ५९ लाख ४४ हजार ६९ रुपैयाँ बराबरका गहना बरामद गरेको छ। 

चोरेकै सम्पत्ति बेचेर उनले बाँकेको चपरगौडी ५/७ वर्ष पहिले नै ४० लाख रुपैयाँमा दुई कट्ठा जग्गा खरिद गरेका थिए। पछि उनले यहाँ तीन तले पक्की घर बनाए। 

बाँकेको बेलासपुर र चपरगौडीमा रहेका उनका घरमा पनि प्रहरीले खानतलासी लिएर सामान बरामद गरेको छ। 
यो सबैको स्रोत चोरी नै भएको पनि उनले बयान दिएका छन्। 

५ वर्ष पहिले नै उनले ९८ लाखमा टोयोटा हाइलक्स गाडी खरिद गरेका थिए। अहिले भने उक्त गाडी बेचिसकेको बयान उनले दिएका छन्। तर अहिले पनि गाडी भने उनकै नाममा छ। 

‘मेरो पारिवारिक आर्थिक हैसियत सामान्य हो। मेरो अन्य पेशा केही छैन। मेरो पेशा नै चोरी हो। मेरो नाममा रहेका घर जग्गा, गाडी बैंक ब्यालेन्स लगायतको सम्पूर्ण चल अचल सम्पत्ति चोरीबाटै आर्जन भएको हो’, प्रेमले बयानमा भनेका छन्, ‘मेरो आर्थिक उपार्जनको आय स्रोत चोरी बाहेक अन्य केही पनि छैन।’

उनले चोरी गर्नका लागि प्रयोग गर्ने चावी, रिन्जी, पलास, पेचकस लगायतका औजारहरु सधैँ झोलामा बोकेर हिँड्थे। उनले चोरेका गहना जोख्नकै लागि डिजिटल तराजु पनि आफैं किनेका थिए। 

विभिन्न ठाउँमा चोरी गरेका गरगहना तथा अन्य सामान बेच्न भारतीय सीमानामा लैजाने गरेको उनले बताएका छन्।

ती सामान क–कसलाई बेचेको भन्ने अहिले खुलाउन नसक्ने उनको भनाई छ। उनी काठमाडौँमा भने कोठा भाडामा बस्दै आएका थिए। उनले घरबेटीलाई समेत आफ्नो नाम सही बताएका थिएनन्।

अर्कै व्यक्तिको नागरिकता देखाएर बसेको खुलेको छ। आफू चोरी गरिरहने भएकाले परिचय नखुलोस् भनेर यस्तो गरेको बताएका छन्। 

अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको हो। उनी दोषि वा निर्दोष ठहर भएर सजाय भने फैसलामा मात्रै तोकिने छ। उनलाई चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा सजाय माग गरिएको छ। यस्तै उनको सम्पूर्ण सम्पत्ति जफत गर्न, पीडितलाई क्षतिपूर्ति भराउन र जरिवाना गर्न समेत माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad