ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुन न्यून चापीय रेखा भारतबाट नेपालतर्फ नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा छ। त्यसैकारण नेपालमा मौसम बदली र वर्षा हुने क्रम क्रमशः बढ्दै गएको छ।
देशको पूर्वी क्षेत्रका केही स्थानमा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको र दिउँसो अन्य स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन्।
‘दिउँसो देशका केही स्थानमा वर्षा हुने सम्भावना छ,’ उनले भनिन्, ‘दिउँसोभन्दा रातितिर बदली अझ सक्रिय हुने देखिएको छ, मध्य र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।’
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ जसका कारण ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जानसक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ। पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने देखिन्छ।
भोलि सोमबारबाट यो क्रम अझ बढ्ने माैसमविद् बासीकाे अनुमान छ। किनभने सोमबार राति न्यून चापीय रेखा नेपाल नजिकै आइपुग्ने र पर्सि मंगलबार बिहान नेपालै भित्रिने संकेत देखिएको छ।
‘भोलि रातिदेखि भारी वर्षा सुरु हुने देखिन्छ,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्, ‘पर्सिदेखि त्यो अझ बढ्ने छ।’
न्यून चापीय रेखा देशभित्रै आएपछि भारी तथा अविरल वर्षा हुने मौसमविद् बताउँछन्। तर यसअघि जस्तो धेरै भारी वर्षा हुने सम्भावना भने कम रहेको मौसमविद् बासीले बताइन्।
‘यसअघि न्यून चापीय रेखासँगै न्यून चापीय क्षेत्र पनि सक्रिय थियो, दुवै प्रणालीले गर्दा बढी नै वर्षा भएको थियो,’ मौसमविद् बासीले भनिन्, ‘यस पटक त्योभन्दा केही कम हुने देखिन्छ, तर भारी वर्षाचाहिँ हुन्छ।’
न्यून चापीय क्षेत्र केही कमजोर र त्यसको केही दिनपछि नै न्यून चापीय रेखा पनि नेपालबाट दक्षिण सरेर भारत प्रवेश गरेकाले केही दिनयता वर्षा जारी रहे पनि अविरल र भारी वर्षा रोकिएको थियो।

प्रतिक्रिया