समाज


१८ बुँदे माग राखेर सिसडोलबासी आन्दोलित, मंसिर २० देखि फोहोर फाल्न नदिने चेतावनी

१८ बुँदे माग राखेर सिसडोलबासी आन्दोलित, मंसिर २० देखि फोहोर फाल्न नदिने चेतावनी

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ८:५०,

विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन्। शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन्।

वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टी सहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ। जग्गा अधिग्रहण राजनीतिक दलका सिमित व्यक्तिको आधारमा प्रभावित क्षेत्र भित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ।

स्थानीय दिनेश कार्कीले बञ्चरे डाँडामा ल्याण्डफिल साइड फोहोर फाल्न तयारी अवस्थामा रहेपनि आफ्ना मागहरु पुरा नभएसम्म फाल्न नदिने बताए। जनताको न्यूनतम मागहरु समेत पुरा नगरी फोहोर फाल्ने तयारी भएपछि आफूहरु आन्दोलित भएको उनको भनाई छ।

यातायात, शिक्षा, स्वास्थ्य, पशुबीमा, बालिबीमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाबकिताब गर्नुपर्ने, ८० शैयाको अस्पताल तत्काल निर्माण गर्नुपर्ने माग उनीहरुको छ। वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढंगमा कायम गर्नुपर्ने र फोहोरको प्रभावबाट मानिस, पशुपंक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेण्टी गर्नुपर्ने स्थानीयहरुको भनाई छ।

अर्का स्थानीय रामचन्द्र ढुंगानाले जनताले अहिलेसम्म काठमाडौंको फोहोर मात्रै खाएको बताए। स्थानीयहरुको व्यवस्थापन नहुँदासम्म फोहोर फाल्न नदिने उनको भनाई छ।

स्थानीयले फोहोरबाट निस्कने लिचड पदार्थको उचित व्यवस्थापन हुनुपर्ने पनि बताएका छन्। मंसिर २० गतेसम्म आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै स्थानीयहरुले मानव बसोबासरहित फोहोरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन्। फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेण्टी गनुपर्ने उनीहरुको माग छ।

ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घनश्याम बजगाईले फोहोरमा राजनीतिक नगर्न आग्रह गरे। काठमाडौं महानगरले आफूहरुमाथि मानवीय व्यवहार नगरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।

बागमती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताए। फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ।

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहार सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ। स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले लामो समयदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad