समाज


अख्तियार प्रमुखका नाममा पूर्वनासुको ‘सुसाइड नोट’ : म भ्रष्टाचारी होइन

अख्तियार प्रमुखका नाममा पूर्वनासुको ‘सुसाइड नोट’ : म भ्रष्टाचारी होइन

नेपालखबर
साउन २७, २०७६ सोमबार ६:४३,

उदयपुरका एक पूर्व नायब सुब्बाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका नाममा दुई पानाको ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्।

त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्व नासु हरिप्रसाद आर्चायले आयोगका प्रमुख नवीनकुमार घिमिरेका नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन्।

असार २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका आचार्यको शव आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटेको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको हो। शनिबारमात्रै काठमाडौँबाट घर गएका आचार्य सोही नगरपालिका-१० निवासी हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिकृष्ण केसीले आचार्यले झुण्डिएर आत्महत्या गरेको बताए। उनले भने, ‘आचार्यको शव झुण्डिएको अवस्थामा फेला परेको छ। शवसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका नाममा दुई पानाको सुसाइड नोट पनि फेला परेको छ।’

आचार्यले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर, जनस्वास्थ्य कार्यालय झापामा रहेर काम गरेका थिए। क्रमचारी समायोजनपछि आफ्नै गृह नगरपालिकामा त्रियुगाको वडा नं. ४ मा आइपुगेका उनी कलंकी मालपोतमा समेत काम गरिसकेका व्यक्ति हुन। वडाध्यक्षसँग विवादपछि राजीनामा दिए बसेका थिए। कलंकी मालपोतमा कार्यरत रहँदा सामुदायिक वनको जग्गा गैरकानुनी रूपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पूर्जासमेत उपलब्ध गराएको आरोपमा उनीसहित सात कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

डीएसपी केसीले पछिल्लो समय उनको मानसिक सन्तुलन ठिक नभएको पाइएको बताए। उनका अनुसार आचार्यको सुसाइड नोटमा अख्तियार प्रमुख घिमिरेको आयु दुई सय वर्षको होस भनेर कामना गरिएको छ।

सुासइड नोटमा उनले आफूले दुई पैसा पनि नखाएको दावी गरेका छन्। उनले अख्तियार प्रमुखका साथमा आफ्न्ताहरुलाई पनि सम्बोधन गर्दै सबैलाई मिलेर बस्न आग्रह गरेका छन्। उनले आफूले काम गर्दा गल्ती भएको र त्यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको बताएका छन्। ‘मैले काम गर्दा भएको गल्ती हो। गल्ती स्वीकार गरी नेपाल सरकारलाई बताइसकेको थिएँ।’

सुसाइड नोटमा उनले आफू निर्दोष हुँदाहुँदै पनि अदालतमा मुद्दा रहेको उल्लेख गरेका छन्। ‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन। तर, म देशको ठूलो भ्रष्टचारी भएँ’, सुसाइड नोटमा उनले लेखेको उल्लेख गर्दै प्रहरी भन्छ, ‘अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्। मजस्तो निर्दोषलाई विशेष अदालतमा मुद्दा छ।’

उनले आफूले आत्महत्या गर्ने स्थानको बारेमा समेत सो नोटमा उल्लेख गरेका छन्। ‘मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु’, उनले लेखेका छन्। कान्छो छोराले ब्याचलर गरेको हेर्ने धोको पूरा हुन नसकेको भन्दै उनले श्रीमतीलाई छोरालाई काठमाडौँ लगेर पाढाउन समेत श्रीमतीलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .