समाज


आजबाट दसैं सुरु, बिहान १०ः३५ बजे जमरा राख्ने साइत

आजबाट दसैं सुरु, बिहान १०ः३५ बजे जमरा राख्ने साइत

नेपालखबर
असोज १२, २०७६ आइतबार ०:४५,

आजबाट दसैं सुरु भएको छ। आज (आइतबार) पहिलो दिन घटनास्थापना हो।

रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदै छ।

 घटस्थापनाको साइत आइतबार बिहान १०ः३५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आजैदेखि नवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र क्रमिक रूपमा चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी यी नौ दुर्गाको उपासना गरिन्छ । भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको घटना प्रसंग बडादसै‌ँसँग जाेडिएकाे छ। 

हेटौँडाको भुटनदेवी, ललितपुरको पूर्णचण्डी, काभ्रेपलाञ्चोक नालाको उग्रचण्डी, गोरखाको मनकामनालगायत मुलुकका सबै शक्तिपीठमा देवीको उपासना हुन्छ । काठमाडौँमा नक्साल भगवती, रक्तकाली, नरदेवी, कालिकास्थान, मैतीदेवी, भद्रकाली, शोभा भगवती, पशुपति क्षेत्रको झङ्केश्वरी, गुह्येश्वरी, भुवनेश्वरी लगायतका शक्तिपीठमा घटस्थापना गरेर देवीको आराधना गरिँदैछ ।

साउन महिनामा बौद्ध विहार परिक्रमा गरी मनाइने गुँला पर्व समाप्त भई एक महिनासम्म शक्तिपीठ र देवस्थल परिक्रमा गरी मनाइने यँला शनिबारदेखि विसर्जन भई आइतबारदेखि नौरात शक्तिपीठ परिक्रमा गरिने नवरात्र मेला सुरु भएको छ । उपत्यकाका नेवार समुदायमा बाजागाजासहित नवरात्र मेला परिक्रमा गर्ने तयारी भएको छ ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ। त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ।

दसैंको टीका साइत बिहान १०:३५ बजे
यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ। पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार असोज २१ गते विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad