सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका ९८ घर परिवारलाई लालपूर्जा वितरण गरेका छन्।
वडा कार्यालयले शनिबार दधिकोटको चित्रपुरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका उनले लालपुर्जाविहीन परिवारलाई लालपुर्जा वितरण गरेका हुन्।
सयौँवर्षदेखि चित्रपुर बस्तीका रुपमा रहेको परम्परागत उक्त बस्तीका बासिन्दाले अहिलेसम्म लालपुर्जाविहीन हुँदा आफ्नै जग्गा र घरको भोग चलन गरे पनि अन्य प्रयोजनका लागि उपयोग गर्न पाएका थिएनन्। भूकम्पमा सिंगो बस्ती भत्किँदासमेत राहत लिन निकै समस्या परेको यहाँका बासिन्दाले अहिले भूकम्पबाट भत्किएका घर बनाएपछि भने लालपुर्जा पाएका छन्।
लालपुर्जा वितरण गर्दै पूर्वमन्त्रीसमेत रहेका बस्नेतले गत निर्वाचनमा यहाँका लालपुर्जाविहीन बासिन्दालाई लालपुर्जा दिलाइदिने प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नै पहलमा लालपुर्जाको व्यवस्था गरी आज वितरण गरेर आफ्नो घोषणा साकार पार्न सफल भएको बताए। उनले लालपुर्जा वितरणदेखि विपद्मा राहत वितरणमा कुनै दल हेरेर विभेद नगरेको उल्लेख गरे।
उनले लालपुर्जा पाएपछि अब आफ्नै घर धितो राखेर छोराछोरी पढाउनदेखि व्यवसाय गर्नसमेत बाटो खुलेको चर्चा गरे। चित्रपुरमा क्रसरोड बनाउन लागेको चर्चा गर्दै सांसद बस्नेतले ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर हुँदै शिकारीटार, अनन्तलिंगेश्वर मन्दिर, कालिकाडाँडा हुँदै रानीकाटेसम्म जाने सूर्यविनायक नगरपालिकाको मुख्य सडक बन्न लागेको बताए।
कार्यक्रममा ३ नं प्रदेशका सांसद शशीजंग थापाले भक्तपुरमा विकासको मूल फुटेको बताउँदै संघ, प्रदेश र स्थानीय तहको बजेटले दुई वर्षको अन्तरालमा गाउँ गाउँमा विकासका लहर आएको उल्लेख गरे। त्यसअवसरमा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले दुईवर्षमा विकासमा निकै लामो फड्को मारेको र अबका तीन वर्षमा विकासले पूर्णता पाउने बताए०। वडा नं ४ दधिकोटका अध्यक्ष उत्तम थापालगायत विभिन्न व्यक्तिले विकासका गतिलाई रोक्न र अवरोध पु¥याउन नहुनेबारे चर्चा गरेका थिए। रासस
Shares

प्रतिक्रिया