ad ad

समाज


महाकालीमा धमाधम हटाइँदै तुइन, जयसिंह खसेको ठाउँमै झोलुङ्गे पुल

नेपाल-भारत वारपार गर्न १० वटा पुल तयार
महाकालीमा धमाधम हटाइँदै तुइन, जयसिंह खसेको ठाउँमै झोलुङ्गे पुल

नेपाल-भारत जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिँदै। तस्बिर : नेपालखबर


गोकुल जोशी
फागुन ३, २०७९ बुधबार १३:८, कञ्चनपुर

दार्चुलाको व्याँस गाउँपालिका–२ का जयसिंह धामीको तुइन चुडिँदा महाकालीमा बेपत्ता भएको ठाउँ मालघाटमा झोलुङ्गे पुल निर्माण भएको छ। 

वि.सं. २०७८ साल साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा धामी महाकालीमा खसेको मालघाटमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको हो।

बिहीबार (भोलि) मालघाट र व्याँस गाउँपालिका–४ बर्तीघाट (मालघट्टे) का दुई झोलुङ्गे पुल सञ्चालनमा आउँदैछन्। 

नेपाल–भारत जोड्न महाकाली नदीमाथि निर्माण सम्पन्न भएका ती दुई पुलको भोलि एक कार्यक्रमबीच उद्घाटन गरेर सञ्चालनमा ल्याइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। 

‘मालघाट र मालघट्टेको झोलुङ्गे पुल भोलिदेखि सञ्चालनमा आउँछ, भारतीय प्रशासनका तर्फबाट डीएम उद्घाटन कार्यक्रम सहभागी हुनेछन्,’ उनले भने। 

सीडीओ उपाध्यायका अनुसार नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनबाट निर्माण गरिएका पुल दुवै देशका सम्बन्धित जिल्लाका अधिकारीको समन्वयमा औपचारिक सञ्चालन गर्न लागिएको हो।

मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ।

पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने छ। भारततर्फको पुलको सुरक्षाका लागि भारतीय प्रशासनलाई पत्राचार गरिएको सीडीओ उपाध्यायले बताए।

मालघाट गस्कुको झोलुङ्गे पुलको सुरक्षा दुम्लिङमा रहेको सशस्त्र प्रहरी र मालघट्टेको पुलको सुरक्षा सुन्सेराको जनपद प्रहरीले गर्ने छ। 

महाकालीमा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हट्दै गएको छ। 

महाकाली किनारका दार्चुलाबासी किनमेल तथा मेलापातका लागि पारी भारततर्फ जाने गर्दछन्। पुल नहुँदा ट्युब र तुइनको सहायताले ज्यान माया मारेर पारी जानुपर्ने दार्चुलाबासीको बाध्यता छ। त्यस क्रममा कतिपय तुइन र ट्युबबाट खसेर महाकालीमा बेपत्ता भएका छन्।

‘महाकालीमा पुल बनेपछि तुइन र ट्युवबाट वारिपारी गर्नुपर्ने बाध्यता हटेको छ,’ व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले भने, ‘अब वैधानिक रुपमा पुलबाट यहाँका मानिस नेपाल–भारत ओहोरदोहोर गर्न सक्छन्।’ 

दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्न १० वटा झोलुङ्गे पुल छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियान अन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा ४ वटा पुल सञ्चालनमा आएका छन्। 

मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्याँस गाउँपालिका–६ वडूगाउँमा गत वर्ष पुल सञ्चालनमा आएको थियो। व्याँस गाउँपालिका–२ मालघाट गस्कु र वडा नं. ४ वर्तीघाट मालघट्टेमा पुल निर्माण सम्पन्न भइसकेको छ।

यस्तै, दार्चुलाको खलंगास्थित पुलघाट, व्याँसको सीतापुल, तिग्रम, महाकालीको दत्तु र लेकमको लालीमा झोलुङ्गे पुल सञ्चालनमा रहेको छ। 

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल पनि बन्दैछ। 

व्याँस गाउँपालिकाको तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा पनि झोलुङ्गे पुलको आवश्यकता रहेको पालिका अध्यक्ष धामी बताउँछन्।

‘पुल बनेपछि नेपाल–भारत ओहोरदोहोर गर्ने परम्परागत घाटहरु विस्थापित हुँदै गएका छन्,’ उनले भने, ‘तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा अझै तुइनकै भर भएकाले सो क्षेत्रमा पनि झोलुङ्गे पुल अनिवार्य छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .