ad ad

खेल


एनपीएल आफैँ आयोजना गर्न कस्सियो क्यान, ३ करोड नाफा हुने दाबी

एनपीएल आफैँ आयोजना गर्न कस्सियो क्यान, ३ करोड नाफा हुने दाबी

यज्ञराज जोशी
मंसिर २७, २०७८ सोमबार १६:४५, काठमाडौँ

बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आफैँ आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान) अग्रसर भएको छ। 

क्यानले आगामी साधारण सभामा एनपीएल आफैँ आयोजना गर्ने प्रस्ताव लैजाने तयारी गरेको छ। क्यानको आगामी साधारण सभा आगामी पुस १३ र १४ गते धनगढीमा हुँदैछ। 

‘यसअघि भारतीय कम्पनीलाई आयोजनाको अधिकार दिने निर्णय खारेज गर्दै एनपीएल आफँै आयोजना गर्ने एजेन्डा साधारण सभामा प्रस्तुत हुँदैछ,’ क्यानका कोषाध्यक्ष रोशन सिंहले नेपालखबरसँग भने, ‘साधारण सभामा छलफलपश्चात यस विषयको टुंगो लाग्नेछ।’ 

क्यानमा निर्वाचित भएलगत्तै अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको कार्यसमितिले एनपीएल आयोजनालाई मुख्य प्राथमिकतामा राखेको थियो। गतवर्ष मंसिरमा भएको क्यानको बोर्ड बैठकले एनपीएल आयोजनाको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई १० वर्षका लागि ४२ करोडमा दिने निर्णय गर्दै प्रारम्भिक समझदारी समेत गर्यो। 

तर, क्यानले घाटाको व्यापार गरेको र नामै नसुनेको कम्पनीलाई व्यवस्थापनको जिम्मा दिन लागेको भन्दै त्यसको चर्को विरोध भयो। क्यानका पदाधिकारी नै एनपीएल आफैँले गराउनुपर्ने पक्षमा उभिएपछि यसपटक साधारण सभाले भारतीय कम्पनीबाट आयोजनाको अधिकार खोस्ने निर्णय गर्ने भएको छ।

भारतीय कम्पनीले पूर्वसर्त पालना नगरेको, सरकारबाट अनुमति प्राप्त हुन नसकेको कारणले पुरानो निर्णय खारेज गर्ने निष्कर्षमा क्यान पुगेको छ।

भारतीय कम्पनीसँगको समझदारीमा टी–२० आयोजना अनुमतिका लागि पहिलो र दोस्रो वर्ष समान २ करोड, तेस्रो वर्ष २ करोड ५० लाख, चौथो वर्ष ३ करोड, पाँचौँ र छैठौँ वर्ष समान ४ करोड २० लाख तथा सातौँ र आठौँ वर्ष समान ५ करोड १० लाख क्यानलाई दिनुपर्ने उल्लेख थियो। 

यस्तै नवौँ वर्ष ५ करोड ९० लाख तथा दसौँ वर्ष ७ करोड ५० लाख गरी कुल ४२ करोड क्यानलाई आयोजकले बुझाउने उल्लेख गरिएको थियो। 

तर यसपल्ट पहिलो सिजनको एनपीएलबाट नै कम्तीमा ३ करोड फाइदा गर्ने योजनासहित क्यान एनपीएल आयोजनामा कस्सिएको हो। 

‘क्यानको आर्थिक स्रोतको मुख्य माध्यम एनपीएल हो। एनपीएल नहुञ्जेलसँग आर्थिक रुपमा क्यानलाई चलाउन गाह्रो छ,’ कोषाध्यक्ष सिंहले नेपालखबरसँग भने, ‘२०२२ को वार्षिक बजेटमा पनि ३ करोड एनपीएलबाट फाइदा हुन्छ भनेर उल्लेख गरेका छौँ। त्योभन्दा माथि फाइदा हुने हामीले अपेक्षा गरेका छौं।’

साधारण सभाको एजेन्डामा एनपीएल आयोजनाका लागि ग्लोबल टेन्डरमा पनि जानुपर्ने विषयमा छलफल हुने सिंहले बताए। तर क्यान आफैँ प्रायोजनका लागि विभिन्न कम्पनीहरुसँग छलफलमा जुटिसकेकाले आफँैले आयोजना गर्ने लगभग तय भएको उनले बताए। 

‘क्यानले गराउने सम्भावना बढी छ। हामीले तयारी पनि सुरु गरेका छौं,’ उनले भने, ‘विभिन्न कम्पनी र स्पोन्सरसँग कुराकानी भइरहेको छ। आफैँले गर्नेगरी काम अघि बढाएका छौँ।’

साधारण सभाले पास गरेमा आगामी असोजमा एनपीएल आयोजना गर्ने तयारी क्यानको छ। 

साधारण सभाका अन्य एजेन्डा
क्यानको साधारण सभाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पटकपटक ताकेता गरेको आर्थिक नियमावली र कार्यविधिलाई पास गर्ने छ। त्यसबाहेक क्यानले २०२२ को बजेट समेत पास गर्नेछ। आगामी वर्षका लागि क्यानको बजेट गत वर्षभन्दा दोब्बर अर्थात् २२ करोड छ। 

गतवर्ष क्यानको बजेट १२ करोड थियो। आईसीसीले समेत बजेट बढाएपछि यसवर्ष ठूलो आकारको बजेट बनाइएको हो। आगामी वर्षको वार्षिक बजेटमा आईसीसीले क्यानलाई थप ५ लाख ७२ हजार डलर रकम बढाएर दिने भएको छ।

गतवर्ष आईसीसीबाट ७ लाख ४८ डलर पाएको क्यानले २०२२ मा १३ लाख २० हजार डलर बार्षिक बजेट पाउने भएको छ। 

आफ्नो बजेटमा दोब्बर वृद्धि गरेको क्यानले यसपल्ट साधारण सभाबाट जिल्ला र प्रदेशलाई दिने रकममा पनि वृद्धि गर्न लागेको क्यानका कोषाध्यक्ष सिंहले बताए।

‘यसअघि जिल्लाले १ लाख र प्रदेशले ३ लाख वार्षिक पाउँदै थिए। अब दोब्बर पार्दै जिल्लालाई २ लाख र प्रदेशलाई ६ लाख रुपैयाँ दिने तयारी हुँदैछ,’ सिंहले भने, ‘त्यसबाहेक जिल्ला र प्रदेशलाई खेल सामाग्रीहरु उपलब्ध गराउने, ग्रास रुट लेभलको विकासका लागि बजेट छुट्याइएको छ।’

क्यान बोर्ड बैठकले यसअघि नै निर्णय गरिसकेको खेलाडीहरुको भत्ता र दैनिक सुविधालाई पनि पास गर्नेछ। पुरुष खेलाडीले एक दिवसीय खेलको १० हजार र टी–२० को ५ हजार रुपैयाँ भत्ता तथा दैनिक भत्ता ५ सय र महिला खेलाडीले टी–२० खेलको ३५ सय पाउने निर्णय क्यानले गरेको थियो। त्यसबाहेक महिला खेलाडीलाई दैनिक ५ सय दिने निर्णय भएको थियो। उक्त निर्णय साधारण सभाले पारित गर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .