ad ad

खेल


कप्तान ज्ञानेन्द्र मल्ललाई कारबाही : विरोधबीच भर्चुअल बैठकबाटै यसरी गरियो निर्णय

यस्तो छ क्यान बैठकको अन्तरकथा
कप्तान ज्ञानेन्द्र मल्ललाई कारबाही : विरोधबीच भर्चुअल बैठकबाटै यसरी गरियो निर्णय

फाइल फोटो


यज्ञराज जोशी
मंसिर २९, २०७८ बुधबार २१:१, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बुधबार राष्ट्रिय टोलीको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्ने निर्णय गर्यो। 

अनुशासन उल्लंघन गरेको भन्दै गठित अनुशासन कमिटीले दिएको प्रतिवेदनका आधारमा बोर्ड बैठकले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई हटाउने निर्णय गरेको हो। 

ज्ञानेन्द्रको स्थानमा लेग स्पिनर सन्दीप लामिछानेलाई क्यानले नयाँ कप्तानको जिम्मेवारी समेत दिएको छ। 

मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले मिडियामा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो। जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए। 

त्यहीबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो। लगत्तै क्यानले आफ्ना कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समितिले अनुशासन छानबिन समिति बनायो।

उक्त समितिले छानविनपश्चात तयार पारेको प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेकाले कारबाहीको सिफारिस बोर्ड बैठकलाई गरेको थियो। 

उक्त प्रतिवेदनका आधारमा बोर्ड बुधबार बसेको बैठकले ज्ञानेन्द्रसहितका खेलाडीलाई कारवाहीको डण्डा चलाएको हो। 

ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानबाट हटाएको बोर्डले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको छ। अर्थात यी खेलाडीले अब ६ महिनाको पारिश्रमिक पाउने छैनन्।  

खेलाडीहरूमाथि यति ठूलो कारवाही गर्ने क्यानको बोर्ड बैठक भने भर्चुअल रुपमा बसेको थियो र बहुमतका आधारमा उक्त निर्णय गरिएको हो।

कार्यसमिति सदस्य अमितवीर पाण्डेका अनुसार बैठकको एजेन्डा समेत दिइएको थिएन। दिउँसो ३ बजेका लागि बोलाइएको बैठकका लागि १० बजे मात्रै खबर गरिएको थियो।

क्यानको कार्यसमिति १९ सदस्यीय छ। दुईजनाले राजीनामा दिएपछि हाल १७ सदस्य बोर्डमा छन। जसमध्ये महिला सदस्य जयन्ती चन्द आजको भर्चुअल बोर्ड बैठकमा उपस्थित थिएनन्। ६ जनाले खेलाडीहरुलाई कारवाही गर्न नहुने आवाज उठाए पनि अन्त्यमा बहुमतका आधारमा कारवाहीको निर्णय लिइएको हो। 

पाण्डेसहित कार्यसमिति सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, दाउद अन्सारी, करण मल्हत्रा र सञ्जय सिंह खेलाडीहरूमाथि कारवाही गर्न नहुने पक्षमा उभिएका थिए। 

कार्यसमिति सदस्य पाण्डे खेलाडी यति ठूलो निर्णय भर्चुअल माध्यमबाट नभएर टेबुलमै बसेर छलफलपछि लिनुपर्ने आवाज उठाएको बताउँछन्। 

‘कारवाही समाधान होइन भनेर हामीले पटकपटक भनेका हौं,’ पाण्डेले नेपालखबरसँग भने, ‘खेलाडी नै भएन भने क्यानको के अस्तित्व भयो र? यति ठूलो निर्णय भर्चुअल मिटिङबाटै गर्नुपर्ने होइन। टेबुलमै बसेर गर्नुपर्ने निर्णय थियो। भर्चुअल बैठकमा दोहोरो कुरा पनि गर्न पाएनन्। अन्त्यमा उहाँहरुले आफूसँग बहुमत छ भन्दै निर्णय गर्नुभयो। यसमा हाम्रो असहमति रह्यो।’ 

पाण्डेले बहुमतका आधारमा निर्णय भइसकेपछि मान्नुको विकल्प तत्काल आफूहरुसँग पनि नरहेको बताए। तर पछि छलफल गरेपछि उपर्युक्त कदम उठाउने उनको भनाई छ। 

क्यान अध्यक्ष चतुरबहादुर चन्दसहित छानविन समितिका संयोजक तथा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल भने सुरु देखि नै क्यानभन्दा ठूलो खेलाडी नभएको भन्दै कारबाहीका गर्नुपर्ने पक्षमा उभिएका थिए।  

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल बहुमतका आधारमा निर्णय भए पनि त्यो प्रक्रियागत ढंगबाट बोर्डको निर्णय नै भएको बताउँछन्। 

‘हामीले विधिवत रुपमा छलफल गरि बोर्डबाट यो निर्णय गरेका हौं। यो कुनै एकदुई जनाको निर्णय नभई सामुहिक निर्णय हो,’ उनले नेपालखबरसँग भने।

बोर्ड बैठकमा प्रशान्तले नै खेलाडीहरूमाथि कारवाहीको एजेन्डा अघि सारेका थिए। बैठकमा कारवाही गर्न हुने नहुने पक्षमा विवाद भएपनि अन्त्यमा निर्णय लेख्दा बहुमतका आधारमा कारवाही गर्ने निर्णय लेखिएको थियो। 

क्यानका अर्का केन्द्रीय सदस्य सदस्य छुम्बी लामा आफूहरुको विरोधका बाबजुद क्यानको आजको निर्णय एकदमै अनफेयर भएको बताउँछन्। 

‘नेपाली क्रिकेट यही गतिले कहाँ पुग्छ? अहिले भाषा भनेको क्रिकेट नखेल भनेको हो,’ लामाले नेपालखबरसँग भने, ‘हामीले बीचको बाटो राखौं। कारवाही निकास होइन भनेका थियौं। उनीहरुले कुरै सुनेनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .