ad ad

खेल


खेलाडीको आग्रह सुनेन क्यानले, छलफलमा बस्नै आनाकानी

खेलाडीको आग्रह सुनेन क्यानले, छलफलमा बस्नै आनाकानी

फाइल तस्बिर


यज्ञराज जोशी
पुस ४, २०७८ आइतबार १६:५८, काठमाडौँ

आफूहरुमाथि भएको कारवाही पुनर्विचार गर्न खेलाडीहरूले गरेको आग्रहलाई नेपाल क्रिकेट संघ (क्यान)ले बेवास्ता गरेको छ। 

छानविन कमिटीले तयार पारेको प्रतिवेदन अनुसार गत बुधबार बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय टोलीको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो। 

उनीहरुसँगै अनुशासन उल्लंघन गरेको पाइएका सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको थियो। 
 

सोमबार आधिकारिक धारणा सार्वजनिक गर्दै खेलाडीहरूले शुक्रबार गरेको पत्रकार सम्मेलनमा क्यानलाई निर्णय पुनर्विचारको अनुरोध गरेका थिए। 

उनीहरुले क्रिकेटमा देखिएका सबै समस्या हल गर्न पनि माग गर्दै भनेका थिए, ‘अहिलेका सबै समस्या समाधान होऊन्। खेलका लागि राम्रो वातावरण नबनोस्। क्यानले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्।’

तर आइतबारसम्म पनि क्यानमा खेलाडीहरूको आग्रहबारेमा सामान्य छलफल समेत भएको छैन। क्यानका अध्यक्ष चतुरबहादुर चन्द खेलाडीको अनुरोधपछि केही दिनमै छलफल गर्ने बताउँछन्।  

‘तुरुन्तै छलफल गर्छौँ। दुई पक्षीय छलफलले के निष्कर्ष निकाल्छ त्यसकै आधारमा जान्छौं,’ चन्दले नेपालखबरसँग भने, ‘खेलाडीहरूको मानमर्दन गर्ने, दुख दिने, खेलाडीको सुविधा काट्ने भन्ने कुनै क्यानको सोच छैन। कमसेकम उहाँले छलफल गरौं भनिसकेपछि छलफल गरेर अघि बढ्नुपर्छ।’

खेलाडीको केन्द्रीय सम्झौतामा क्यानबारे सार्वजनिक रुपमा बोल्न नपाइने शर्त छ। तर खेलाडीहरूले भने ग्रेडिङलगायत विषयमा सार्वजनिक रुपमा मिडियामा बालेपछि क्यानले स्पष्टीकरण सोधेको थियो। 

जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए। त्यहीँबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो।

लगत्तै क्यानले आफ्ना कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन छानबिन समिति बनायो।

उक्त समितिले छानविनपछि तयार पारेको प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेको भेटिएको भन्दै कारबाहीको सिफारिस बोर्ड बैठकलाई गरेको थियो। उक्त प्रतिवेदनका आधारमा बोर्डले खेलाडीहरुमाथि कारबारी गरेको हो। 

क्यान अध्यक्ष चन्दले यसअघि पनि खेलाडीहरुलाई तीनपटकसम्म मौका दिएको बताउँदै आफूहरु नरम भएर छलफल गर्न तयार रहेको उल्लेख गरे।

‘हामी नरम नै थियौं। पहिलो दोस्रो स्पष्टिकरण नरम नै थियो। खेलाडीसँग वार्ता गर्दा नरमै थियौं। तीन चरणमा कुरा भएको हो। व्यक्तिगत रुपमा पनि कुरा गरेका थियौं,’ उनले भने, ‘खेलाडीहरु आएर छलफल गर्छौ भन्यो भने हामी तयार छौँ। खेलाडीहरु कही कतैबाट खेलाडीलाई मिसगाइड गरे जस्तो लाग्छ। उनीहरुलाई छलफलमा बोलाउन कुरो एक दुई दिनमा थाहा हुन्छ।’

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल अभिभावक संस्था क्यान भएकाले अब समस्या समाधान पहल गर्ने जिम्मेवारी पनि क्यानकै भएको बताउँछन्। उनले जतिसक्दो चाँडो यो समस्या सल्ट्याउनुपर्ने बताए। 

‘पहल गर्ने जिम्मेवारी अभिभावककै हुन्छ। जतिसक्दो चाडो यो विषय सल्ट्याउनुपर्छ,’ अग्रवालले नेपालखबरसँग भने, ‘खेलाडीहरूले प्रेस मिट गरेर अनुरोध गरेका छन् र खेल्न पनि तयार नै छन्। जेन्युन् कुरा के छन्? ती कुराहरु पूरा गरि दिनैपर्छ।’ 

अग्रवालले दुवै पक्ष छलफलमा बसेर एकअर्काका कुरा सुन्ने पूरा गर्नसक्ने कुरा पूरा गरिदिने र तर्कसंगत नभएका कुरालाई आफ्ना तर्कहरु राखेर खेलाडीलाई कन्भिन्स गर्ने जिम्मेवारी पनि क्यानकै भएको बताए। 

‘समस्याको समाधान निस्किएन भने क्रिकेटको दुर्भाग्य क्रिकेटको हुन्छ। चारवटा खेलाडीहरु नखेल्दा क्रिकेट नै बन्द हुन्छ भन्ने हुँदैन तर खेलाडीको मनोबल टुट्छ,’ अग्रवालले भने, ‘क्यान र खेलाडीबीच विश्वासको संकट पैदा हुन्छ। टिम भएर गए पो नतिजा दिने हो। एकअर्काप्रति अविश्वास नै रह्यो भने नेपालकै नतिजामा त्यसको प्रभाव पार्छ।’ 

सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदैछ। त्यसको ग्लोबल छनोट फेब्रुअरीमा २०२२ अर्थात झन्डै साढे २ महिनापछि ओमानमा हुँदैछ। 

उक्त ग्लोबल छनोटमा नेपालसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, ओमान, फिलिपिन्स र यूएई गरी ८ राष्ट्रले खेल्दैछन्। 

सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष २ मा रहने टोली विश्वकपमा छनोट हुनेछ। नेपालकै हाराहारीका प्रतिद्वन्द्वीहरु भएका कारण यसपटक नेपाललाई २०१४ पछि विश्वकप खेल्ने राम्रो अवसर छ।

त्यसैलाई मध्यनजर गर्दै २०१४ मा नेपाललाई टी–२० विश्वकपमा पु¥याएका प्रशिक्षक पुबुदु दासानायकेलाई क्यानले पुनः भित्र्याएको हो। 

पुबुदु आउने भएसँगै नेपालले पुनः विश्वकप खेल्ने आशा जागेको छ। जुन नेपाली क्रिकेटको भविष्यसँग जोडिएको प्रतियोगिता पनि हो। 

तर विश्वकप छनोट मुखैमा आएका बेला बुधबार क्यानले गलत टाइमिङमा कारवाही गरेको क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे बताउँछन्। 

‘विश्वकप छनोट जस्तो महत्वपूर्ण प्रतियोगिताको मुखैमा आएर टोलीमा खैलाबैला मच्चाउनु एकदमै गलत भयो,’ उनले भने, ‘लगत्तै प्रशिक्षक पनि आइरहेका बेला उनीसँगको छलफलपछि केही

निर्णय लिएको भए हुन्थ्यो। तर गलत समयमा गरिएको कारबाहीलाई सुधार्न अब क्यानले पहल लिनैपर्छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .