ad ad

खेल


मिडिया हबको आकलन– विश्वकप हेर्न ५ लाख ग्राहकले तिर्न सक्छन् थप ५ सय

मिडिया हबको आकलन– विश्वकप हेर्न ५ लाख ग्राहकले तिर्न सक्छन् थप ५ सय

दीपक भट्ट
कात्तिक ३०, २०७९ बुधबार १८:४८, काठमाडौँ

नेपालमा विश्वकप फुटबल प्रसारणसम्बन्धी विवाद सर्वोच्चले बुधबार टुंग्याइदिएसँगै ५ लाख दर्शक–ग्राहकले थप ५ सय तिरेर खेल हेर्ने मिडिया हबले आशा गरेको छ।  

प्रसारण अधिकार खरिद गरेको मिडिया हब प्रालिले लोकप्रिय खेल फुटबलको विश्व प्रतिस्पर्धा उक्त संख्यामा ग्राहकले थप शुल्क हेर्ने आकलन गरेको हो।  

सर्वोच्च अदालतले बुधबार यससम्बन्धी रिट निवेदनको छिनोफानो गर्दै थप शुल्क असुलीको बाटो खोलिदिएको हो। 

मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले सेटअप बक्स धेरै जोडिएको देखिए पनि निकै कम मात्र सक्रिय रहेको दाबी गरे। 

उनले भने, ‘सक्रिय सेटअप बक्स १५/१६ लाख छ। यसमध्ये ४/५ लाख जतिले सब्सक्राइब गर्ने आशा छ।’

५ सय रुपैयाँ लिनु मिडिया हबको रहर नभएको भन्दै उनले परिस्थिति सहज भएको भए थप शुल्क असुली नगरिने उनको भनाइ थियो। 

‘हाम्रो बाध्यता हो। अहिले परिस्थिति सहज थियो भने हामीले दर्शकबाट पैसा लिँदैनथ्यौँ’, उनले नेपालखबरसँग भने, ‘अहिले परिस्थिति नै त्यस्तै छ। त्यसकारणले पैसा लिनुपर्यो।’ 

धेरै पैसा कमाउने भन्ने आकांक्षा नभएको उनको तर्क छ।  

लागत धेरै भएकोले अतिरिक्त पैसा लिन लागेको उनको भनाइ छ। उपभोक्ताबाट उठाइएको रकम समेत मिडिया हबले धेरै नपाउने उनले बताए।  

‘केबल नेटवर्कहरुसँग हामीले ६०/४० र ७०/३०को सम्झौता गर्दै छौँ’, उनले भने। 

सोहीअनुरुप केबल च्यानलसँग प्रसारणसहितको सम्झौता आज र भोलिमा टुङ्ग्याउने समेत उनले जानकारी दिए। 

मिडिया हबका अनुसार केवल च्यानल, आईपी टीभी, डिसहोम लगायतले आफ्नो कति सेटअप बक्सबाट नयाँ प्रसारण हुन्छ त्यसको प्रतिबद्धता देखाउनुपर्नेछ। 

त्यसमा धेरै प्रतिबद्धता देखाउनेले दर्शकबाट उठेको ४० प्रतिशत पाउनेछ भने थोरै प्रतिबद्धता राख्नेले ३० प्रतिशत पाउनेछ। 

तयारी कहिले सकिन्छ?
अदालतमा रिट परेदेखि नै मिडिया हबले चाँडो यो विषय टुंग्याइदिन आग्रह गर्दै आएको थियो। 

रिट सुनुवाइपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश गर्दै मिडिया हबलाई तत्कालका लागि पैसा नअसुल्न भनेको थियो। तर मिडिया हब फेरि भ्याकेट निवेदन लिएर सर्वोच्च गएको थियो। 

दुवै पक्षसँग छलफल गरेपछि बुधबार अदालतले पैसा उठाउने बाटो खोलिदिएको हो। 

मिडिया हबले अदालतको उच्च सम्मान गर्ने कार्यकारी निर्देशक धिताल बताउँछन्। यद्यपि अदालतसम्म यो विषय पुग्दा तयारीमा केही अलमल भएको उनको भनाइ छ।  

‘अदालतको आदेशअनुसार नै हामीले आफ्नो तयारी रोकेका थियौँ। त्यसले तयारीलाई केही अलमलजस्तो बनाएको छ’, उनले भने।  

दर्शकहरुलाई उच्च कोटिको गुणस्तरयुक्त खेल प्रसारण हुने उनले बताए। 

त्यसका लागि मिडिया हबले रातदिन काम गर्ने उनले बताए। 

‘यो अलमल नभएको भए यतिखेर फुटबल आउने च्यानल टेस्ट भइसक्थ्यो’, धितालले थपे, ‘एक हप्ताजति अबेला भयो। त्यसमा पनि ठूलो आपत्ति छैन। अब तीन दिन बाँकी छ। त्यसमा पनि हामी उच्च्कोटीको प्रसारण गर्नेछौँ।’ 

नेपालमा विश्वकप फुटबल टेलिभिजन प्रसारणको अधिकार लिएको मिडिया हबले टेलिभिजन ग्राहकसँग थप ५ सय रुपैयाँ लिने प्रक्रिया अगाडि बढाएपछि अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए। 

मिडिया हबले भायकम १८ मिडिया प्रालिसँग फिफा विश्वकप २०२२ को नेपालमा प्रसारण गर्ने प्रयोजनार्थ आवश्यक प्रसारण अधिकार लिएको छ। 

टेरिटोरी लक हुने गरी एक्सक्लुसिभ अधिकार लिएको मिडिया हबको भनाइ छ। सोही कारण लागत धेरै भएकोले उपभोक्तासँग पैसा उठाउने चाहेको उसले बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .