खेल


पीएनजीसँग फेरि हार्‍यो यूएई, नेपाललाई फाइदा

पीएनजीसँग फेरि हार्‍यो यूएई, नेपाललाई फाइदा

नेपालखबर
फागुन २१, २०७९ आइतबार १६:४८, काठमाडौँ

आईसीसी लिग २ मा घरेलु टोली यूएईले दोस्रो खेलमा पनि पपुवा न्युगिनीसँग लज्जास्पद हार व्यहोरेको छ। 

आइतबार दुबईमा भएको खेलमा १३९ बल बाँकी हुँदै पीएनजीले ५ विकेटको क्षतिमा यूएईले दिएको लक्ष्य पूरा गरेको हो। 

पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ९७ रन बनाउँदा २७ औँ ओभरमा अलआउट भएको थियो। 

९८ रनको लक्ष्य पछ्याएको पीएनजीले यूएईलाई लगातार दोस्रो खलेमा हराउने क्रममा ओपनर टोनी एराले नटआउट ३५ रनको योगदान दिए। सेसे बाउ १८ र हिरी हिरी १४ रनमा आउट भए। 

चाड सोपर ८ रनमा अविजित रहँदा चार्लेस अमिनी ८ र किप्लिन डोरिगा २ रनमा आउट भए। कप्तान असाद भालाले भने खाता नै खोल्न सकेनन्। 

यूएईका लागि रोहन मुस्ताफाले ५ ओभरमा १६ रन खर्चिएर २ विकेट लिए पनि पीएनजीको जित रोक्न सकेनन्। जाहुर खान, आयान अफजाल खान र जुनैद सिद्धिकीले समान एक विकेट लिए। 

यूएई भ्रमणमा पीएनजी नेपालसँग दुवै खेलमा पराजित भएको थियो। तर यूएईलाई भने उसले दुवै खेलमा पराजित गरेको छ। 

यूएईले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो। नेपाल र यूएईबीच दोस्रो खेल सोमबार हुनेछ। 

यो खेल नेपालले जिते दुवै टोलीका लागि विश्वकप छनौटको सम्भावना कायम रहनेछ। तर नेपाल हारेको अवस्थामा भने नामिविया र यूएईमध्ये एक टोलीले विश्वकप छनौटमा स्थान बनाउनेछन्। 

यी तीन देशले अन्तिम चरणका खेल नेपालमा खेल्नेछन्। सोमबार नेपालले यूएईलाई हराएको खण्डमा दुवै टोलीलाई बाँकी ४ खेल जित्नै पर्ने दबाब हुनेछ। 

नामिवियाको ३९ अंक हुँदा समान ३१ खेल खेलेका नेपालको ३० र यूएईको ३१ अंक छ। 

लिग २ मा पीएनजी भने अन्तिममा छ। बाँकी नतिजाले पनि उसको तालिकामा सुधार हुने छैन। स्कटल्याण्ड र ओमानले विश्वकप छनौटमा स्थान बनाइसकेका छन्। 

तालिकाको चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक मात्रै छ। उसको विश्वकप छनौट खेल्ने सम्भावना सकिएको छ। 

विश्वकप छनौट खेल्न नपाए पनि अहिलेकै अवस्थामा आईसीसीबाट एकदिवसीय मान्यता कायम राख्न शीर्ष ५ मा पर्नु पर्नेछ। 

यस्तोमा आइतवार यूएईले पीएनजीसँग हार व्यहोर्दा एक दिवसीय मान्यता जोगाइरहन नेपाललाई सजिलो भएको छ। त्यसका लागि अब नेपालले बाँकी ५ मध्ये ३ खेल जित्नु पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .