राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी र महिलातर्फ बक्सिङकी सुष्मा तामाङ घोषित भएका छन्।
एनएनआईपीएलले सोमबार आयोजना गरेको स्पोर्टस् अवार्डमा महिलातर्फ सुष्मा तामाङ र पुरुषतर्फ दीपक अधिकारी बन्न सफल भएका हुन्।
सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनीहरूले जनही १ लाख रुपैयाँ प्राप्त गरेका छन्। नवौँ राष्ट्रिय खेलकुदमा समावेश भएका खेलमध्यबाट हरेक खेलबाट उत्कृष्ट खेलाडी छनोट गरिएको थियो। ति मध्यबाट दीपक र सुष्मा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए।
प्रतिभाशाली खेलाडी अवार्ड महिलातर्फ स्वीमिङकी डुवाना लामा र पुरुषतर्फ क्रिकेटका रोहित पौडेलले पाएका छन्। उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरे।
पारा खेलाडीको अवार्ड दुर्गामान तामाङले हात पारे। उनले अवार्डसहित १५ हजार रुपैयाँ पाए।
गजराज आदर्श खेल व्यक्तित्व अवार्डबाट टेवल टेनिसका धर्ममान बज्राचार्यलाई सम्मानित गरिएको थियो। उनले ३५ हजार रुपैयाँ प्राप्त गरे।
एनएनआईपीए खेलकुद पत्रकार अवार्ड अजय फुलालले प्राप्त गरे। अवार्डसँगै उनले ३५ हजार रुपैयाँ पाए।
एनएनआईपीए स्पोर्ट्स अवार्डबाट आर्चरीका प्रसाद आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुसा मल्ल, बडिविल्डिङका असिम बाबु गुरुङ, बक्सिङकी सुष्मा तामाङ, चेसका रुपेश जैसवाल, क्रिकेटका रोहित पौडेल, साइक्लिङका सुरुज राना मगर, फेन्सिङकी शिक्षा नापित, फुटबलका किरण चेम्जोङ, फुल कन्ट्रयाक्ट करातेका सन्देश मानन्धर, गल्फका सुवास तामाङ, जिमन्यास्टिकका राजु राई, ह्यान्डबलकी शान्तिकला राई, हक्कीका महेश धानी, आइटीएफ तेक्वान्दोकी रुविका खड्का वर्ष खेलाडीबाट सम्मानित भए।
यस्तै, जुडोकी देवकी माया श्रेष्ठ, कवड्डीकी अनुजा कुलुङ राई, करातेका विजय श्रेष्ठ, खोखोकी सरस्वती कठायत, लन टेनिसका सलोनी तामाङ, प्याराग्लाइडिङकी रिता श्रेष्ठ थापा, रग्वीका निरज कार्की, सेपाकताक्रोकी उषा महर्जन, सुटिङका सुजन रानामगर, सफ्ट टेनिसका युकेश योञ्जन, स्क्वासका अमृत थापा मगर, स्वीमिङकी डुवाना लामा, टेवल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी काजल श्रेष्ठ, ट्रयाथलनका सेरवी महर्जन, भलिबलका रविन चन्द, भारोत्तोलनकी जुनमाया छन्तयाल, रेस्लिङका सुरेश चुनारा र उसुका सनम गुर्सी वर्ष खेलाडी बन्न सफल भए।
एनएनआईपीएलले गतवर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मान्दै खेलाडी छनोट गरेको हो। वर्ष खेलाडी बन्न सफल खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गरे।
Shares
प्रतिक्रिया