वेस्टइन्डिजका प्रसिद्ध क्रिकेटर ब्रायन चार्ल्स लारा नेपाल आउने भएका छन्। नेपाल प्रिमियर लिगका क्रममा उनी आउन लागेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले बताए।
उनका अनुसार लारा यही साता आउने भए पनि मिति तय भइसकेको छैन। ट्रिनिडाडका ५५ वर्षीय लारा अन्तर्राष्ट्रिय क्रिकेटका सर्वकालीन सफल ब्याट्सम्यानका रुपमा परिचित छन्। उनले विश्व क्रिकेटका धेरै रेकर्ड आफ्नो नाममा लेखाएका छन्। पहिलो श्रेणीको क्रिकेटमा व्यक्तिगत उच्च स्कोरको कीर्तिमान उनको नाममा छ।
इङ्ल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा उनले सन् २००४ मा नटआउट ४०० रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमै साउथ अफ्रिकाविरुद्ध सन् २००३ मा एकै ओभरमा २८ रन बनाउँदै अर्को कीर्तिमान रचेका थिए।
उनकै कप्तानीमा २००४ मा वेस्ट इन्डिजले आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो। जुन सन् १९७९ विश्वकप क्रिकेटको उपाधिपछिको ठूलो उपाधि थियो।
लारा टेस्ट ब्याटिङमा लामो समय विश्व वरीयताको शीर्षस्थानमा थिए। मुथैया मुरलीधरनले पनि लारालाई विश्वका सबै ब्याट्सम्यानहरुमध्ये आफ्ना लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वीको रुपमा प्रशंसा गरेका थिए।
उनले टेस्ट क्रिकेटमा ३४ सतक र ४८ अर्धसतकसहित ११ हजार ९५३ रन बनाएका छन्। एकदिवशीय क्रिकेटमा १९ सतक र ६३ अर्धसतक प्रहार गर्दै १० हजार ४०५ रन बनाएका छन्।
Shares

प्रतिक्रिया