काडमाडौँमा शुक्रबारदेखि सुरु हुने नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशका महिला तथा पुरुष टोलीले सहभागिता नजनाउने भएको छ।
यसअघि राष्ट्रिय खेलाडी छनोट गर्दा गण्डकी प्रदेशका खेलाडी नपरेको भन्दै प्रदेशले विरोध गरेको थियो। त्यसलाई नै निरन्तरता दिदै गण्डकी प्रदेशबाट महिला र पुरुषतर्फका दुबै टोली सहभागी नहुने भएका हुन्।
गण्डकी प्रदेशका मुख्य प्रशिक्षक रमेश केसीले आफुहरुलाई संघले नपठाएको कारण एनभीए नखेल्ने भएको बताएका हुन्।
उनले भने, ‘संघले आर्थिक श्रोत जुटाउन नसकेर नपठाएको बताएको छ। प्रदेशका खेलाडी पनि युएईमा हुने भलिबल प्रतियोगिता खेल्न जानका लागि भिसा आइसकेको रहेछ, त्यही भएर प्रदेशले नखेल्ने बताएको हो। अब टाइगर कप खेल्ने तयारी पनि गर्नुपर्ने छ।’
संघको आयोजनामा हुने च्याम्पियनसिप नखेलेपनि टाइगरको तयारीमा भने प्रदेश जुट्दैछ। गण्डकी प्रदेशबाट महिला टोली सहभागी नहुने भएपछि कप्तान अरुणा शाही भलिबल प्रतियोगिता कै लागि भनेर अस्ट्रेलिया जाने भएकी छिन्।
च्याम्पियनसिपबाट शीर्ष स्थानमा रहने पुरुषतर्फ ८ र महिलातर्फका ६ टोली प्रधानमन्त्री कप एनभिए लिगका लागि छनोट हुनेछन्। च्याम्पियनसिपमा महिलातर्फ डायमण्ड एभरेस्ट भलिबल क्लब, त्रिभुवन आर्मी क्लब र चुली युवा क्लब रहेको समूह ए मा छ।
समूह बी मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश स्पोर्टस् काउन्सिल, नेपाल एपीएफ क्लब र मधेश प्रदेश स्पोर्टस् काउन्सिल रहेका छन्।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब समूह ए मा छन्। समूह बी मा नेपाल पुलिस क्लब, ढोरपाटन क्लब, खिलजी युवा क्लब समूह बी मा छन्।
रुकुम पश्चिम ट्रेनिङ सेन्टर, बुढानीलकण्ठ भलिबल क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर समूह सी मा छन्। समूह डी मा त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश भलिबल संघ र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टर रहेका छन्।
एनभीए महिला तथा पुरुष च्याम्पियनसिप पुष ११ देखि १९ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ।
Shares

प्रतिक्रिया