खेल


राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपालखबर
माघ २१, २०८२ बुधबार १६:५६, काठमाडौँ

एक्सट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारीअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोंकित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।

क्यान र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच जर्सी प्रायोजनसम्बन्धी दुई वर्षे सम्झौता माघ २ गते शुक्रबार सम्पन्न भएको थियो। सोही सम्झौताअनुसार तयार गरिएको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले बुधवार संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। 

उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

जर्सी प्रायोजनले खेलाडीहरूलाई प्रोत्साहन, आत्मविश्वास र व्यावसायिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। यस सहकार्यले टोलीको तयारी, मनोबल र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव मेहताले निजी क्षेत्रबाट प्राप्त सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीको पहिचानलाई थप सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति अझ बलियो बनाउने विश्वास पनि व्यक्त गरिएको छ।

यस अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी पुरुष टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालको खेल हेर्न मैदान पुग्ने समर्थकहरूका लागि वाङखडे स्टेडियममा दुई हजार थान नेपाली क्रिकेट टोलीको जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad