नेपाली क्रिकेट समर्थकका लागि फेब्रुअरी महिना 'क्रिकेट उत्सव' बन्दैछ। भारत र श्रीलंकामा आइतबार (फेब्रुअरी ७) देखि सुरु हुने १० औं संस्करणको आइसीसी पुरुष टी–२० विश्वकपको आधिकारिक प्रसारणलाई लिएर रहेको अन्योल अब हटेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले शुक्रबार नेपालसहित दक्षिण एसियाली उपमहाद्वीपका लागि स्टार स्पोर्ट्सलाई आधिकारिक च्यानलका रूपमा घोषणा गरेको छ।
नेपालमा स्टार स्पोर्ट्स टेलिभिजन च्यानल प्रसारणको अधिकार पाएका नेट टिभी, भायाटिभी, क्लियर टिभी र डिशहोमका खेलकुद प्याकेजमार्फत नेपाली दर्शकले विश्वकपका ५५ वटा खेलको प्रत्यक्ष मज्जा लिन पाउनेछन्। डिशहोम प्रयोगकर्ताका लागि भने 'डिशहोम गो' एपमार्फत मोबाइलमै खेल हेर्ने सुविधा उपलब्ध हुनेछ। आइसीसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'नेपाल, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सका दर्शकले स्थानीय साझेदारहरूमार्फत स्टार स्पोर्ट्समा उच्च गुणस्तरको फिड प्राप्त गर्नेछन्।'
यसपटकको विश्वकप प्रसारण केवल प्रविधिको हिसाबले मात्र होइन, 'कमेन्ट्री बक्स' मा रहने अनुहारका कारण पनि विशेष हुने देखिन्छ। आइसीसीले सार्वजनिक गरेको जम्बो कमेन्ट्री प्यानलमा विश्व क्रिकेटका दिग्गजहरूको बाहुल्यता छ।
दिग्गजहरूको आवाज
कमेन्ट्री टोलीको अग्रपंक्तिमा भारतीय क्रिकेटका 'भ्वाइस' रवि शास्त्रीसँगै नासिर हुसेन, इयान स्मिथ र इयान बिसप रहनेछन्। यी त्यस्ता नाम हुन्, जसको आवाजले खेलको रोमाञ्चकतालाई अर्को उचाइमा पुर्याउँछ।
रोचक त के छ भने, यसपटक कमेन्ट्री बक्समा पूर्व च्याम्पियन र वर्तमान कप्तानहरूको समिश्रण हुनेछ। पूर्व विश्वविजेताहरू आरोन फिन्च, दिनेश कार्तिक, कुमार सांगाकारा, स्यामुल बद्री, रोबिन उथप्पा र कार्लोस ब्रेथवेटले खेलको सूक्ष्म विश्लेषण गर्नेछन्। त्यस्तै, दक्षिण अफ्रिकाका वर्तमान कप्तान तेम्बा बाभुमा र श्रीलंकाका अनुभवी एन्जेलो म्याथ्युज पनि माइक्रोफोन समातेर मैदानको रणनीति सुनाउन व्यस्त देखिनेछन्।
५५ खेलको यो लामो प्रतियोगितामा आइसीसी टिभीले खेलअघिको विश्लेषण (प्रि-म्याच), इनिङ्स ब्रेक र खेलपछिको समीक्षालाई थप 'प्रिमियम' बनाउने तयारी गरेको छ।
Shares

प्रतिक्रिया