खेल


अन्तिम ओभरमा निर्णायक ब्याटिङ गर्न नसक्दा इंग्ल्यान्डसँग नेपाल पराजित

अन्तिम ओभरमा निर्णायक ब्याटिङ गर्न नसक्दा इंग्ल्यान्डसँग नेपाल पराजित

लक्ष्मी जि.सी
माघ २५, २०८२ आइतबार १८:५२, मुम्बई

विश्वकपको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग झिनो रनले पराजित भएको छ। 

एक समय जितको नजिक पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तिम ओभरमा सम्हालिन नसक्दा आइसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा पराजित भएको छ।

अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा नेपालले ५ रन मात्र बनाउँदा जित नजिक पुगेर पनि टाढिन पुग्यो। आइतबार भएको समुह चरणको पहिलो खेलमा नेपाली टोली इङल्यान्डसँग ४ रनले पराजित भएको हो।

इङल्यान्डले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाउन सक्यो।  

इङल्यान्डलाई चुनौती दिएको नेपाल अन्तिम समयमा सम्हालिन सकेन। नेपाल एक समय ५.२ ओभरमा २–४२ को अवस्थामा थियो। कप्तान रोहित र दिपेन्द्रले इनिङ्स सम्हालेपछि नेपालले जितको आधार तयार भएको थियो।  

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले ८२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। टी–२० आइ क्रिकेटमा २ हजार रन पूरा गरेका अलराउण्डर दिपेन्द्र सिंह ऐरि ४४ रन बनाउँदा साम कुरनको बलमा क्याच आउट भए। २९ बलमा ६ चौका र १ छक्का प्रहार गरेका दिपेन्द्र क्याच आउट हुन पुगे। 

कप्तान रोहित ३४ बलमा २ चौका र २ छक्का सहयोगमा ३९ रन बनाउँदा लियाम डसनको बलमा क्याच आउट हुन पुगे। आरिफ शेख १० रन बनाउँला जोफ्रा आर्चरको बलमा क्याच आउट नै भए। 

प्रतिस्पर्धात्मक खेलमा ९ ओभरको समाप्तीमा नेपालले २ विकेटको क्षतिमा ७५ रन बनाएको थियो। इङल्यान्डले ९ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको थियो। 

पावर प्ले मा नेपालले २ विकेटको क्षतिमा ४७ रन बनाएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेल २९ रन बनाउँदा विल ज्याक्सको बलमा कट एण्ड बोल्ड हुन पुगे। कुशलले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

अर्का ओपनर आशिफ शेख ९ बलमा १ चौका सहयोगमा ७ रन बनाउँदा लियाम डसनको बलमा क्याच आउट भए। गुल्सन झा १ रनमा बोल्ड आउट भए।

त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि दिपेन्द्र सिंह ऐरि र नन्दन यादवले समान २ विकेट लिए। नन्दन यादव, शेर मल्ल र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे। 

करण केसी र कुशल भुर्तेल विकेटविहिन रहे। कुशल भुर्तेलले आफ्नो स्पेलमा ४० रन खर्चे। करण केसीले ३ ओभरमा ३५ रन खर्चे। नेपालले अन्तिम ओभरमा २१ रन खान पुग्यो। 

विल ज्याक्स ३९ रनमा अविजित रहे। उनले १८ बलमान १ चौका र ४ छक्का हाने। जोफ्रा आर्चर १ रन बनाउँदा करण केसीको बलमा रनआउट हुन पुगे।

नेपालविरुद्ध आक्रामक सुरुवात गरेको इङल्यान्डले पावर प्लेमा २ विकेट गुमाएर ५७ रन बनाएको थियो। 

८ बलमा २ रन बनाएका साम कुरन १५.३ ओभरमा दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे। चौथो विकेटका लागि जाकोब बेथल र ह्यारी ब्रुकले ७१ रनको साझेदारी गरे। 

दीपेन्द्र सिह ऐरिले १४ औँ ओभरको चौथो बलमा जाकोब बेथेललाई ५५ रन बनाउँदा लोकेश बमको हातबाट क्याच आउट गराए। ३५ बलमा ४ चौका र ४ छक्का हानेका बेथललाई  दिपेन्द्रले आफ्नो दोस्रो ओभरको चौथो बलमा क्याच गराउँदै पेभेलियनको बाटो देखाए। 

इङल्यान्डले ११.२ ओभरमा नेपालविरुद्ध १ सय रन पूरा गरेको थियो। सातौ ओभरको पहिलो बलमा स्पिनर सन्दीप लामिछानेले टम बान्थोमलाई २ रन बनाउँदा एलबीडब्लु धरापमा पारे। 
नेपालका लागि सुरुवाती दुवै विकेट पहिलो पटक विश्वकप खेलिरहेका नन्दन यादव र शेर मल्लले लिए।  

नन्दन यादवले पाचौँ ओभरको तेस्रो बलमा ओपनर जस बटलरलाई पेभेलियनको बाटो देखाए। १७ बलमा ५ चौका सहयोगमा २६ रन बनाएका जस नन्दनको बलमा विकेटकिपर आशिफ शेखको हातबाट आउट हुन पुगे। पहिलो पटक विश्वकप खेलिरहेका नन्दनले आफ्नो पहिलो ओभरमा नै विकेट लिएका हुन्। 

नन्दनले १९ औँ ओभरको दोस्रो बलमा कप्तान ह्यारी केनलाई ५३ रनमा आउट गरे। ३२ बलमा ४ चौका र ३ छक्का हानेका ह्यारी नन्दनको बलमा शेर मल्लको हातबाट क्याच आउट हुन पुगे। 

त्यसअघि शेर मल्लले दोस्रो ओभरको पहिलो बलमा अ‍ोपरन फिल साल्टलाई १ रन बनाउँदा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै डेब्यु विकेट लिएका थिए। 

समुह चरणको दोस्रो खेलमा नेपालले बुधबार इटालीसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad