यसपटक आईसीसी पुरुष टी-२० विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै ४ खेल भारतकै वानखडे रंगशाला (मुम्बई) मा खेल्ने समाचार सार्वजनिक हुनेबित्तिकै क्रिकेटप्रेमी कतिपय नेपालीले उत्साहित हुँदै उतै जाने योजना बनाए।
माघ २५ गते आफ्नो पहिलो खेलमै हारे पनि नेपाली क्रिकेट टोलीले दर्शकको त्यो उत्साहमा तुषारापात हुन दिएन।
इङ्ग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनको झिनो अन्तरले हार्यो। तर आफ्ना खेलाडीले त्यस दिन गरेको उत्कृष्ट प्रदर्शनले नेपाली दर्शक हारलाई पनि जितझैँ मानेर खुसी भए।
नेपाली दर्शकले मात्र होइन, पहिलो खेलमा नेपालको प्रदर्शन देखेर विश्व क्रिकेटका ठुला हस्तीले समेत प्रशंसा गरे।
नेपाली दर्शकले त इङ्ग्ल्यान्डविरुद्ध सानदार प्रदर्शनले जारी विश्वकपमा नेपाल सुपर एटमै पुग्ने सपनासमेत देख्न थाले।
तर त्यो अपेक्षा त्यतिबेला पानीको फोका बन्यो, जतिबेला नेपाल पहिलोपटक विश्वकप खेल्दै गरेको इटालीसँग लज्जास्पद रूपमा (१० विकेटले) हार्यो।
त्यसपछि भने नेपाली दर्शक निकै दु:खी भए। कुनै पनि खेलाडीले जिम्मेवार भएर प्रदर्शन नगरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गर्नुभन्दा बढी चित्त दुखाए।
त्यसो त खेलमा हार-जित हुनु स्वाभाविकै हो तर इटालीसँग नेपालले जसरी खेल्यो, त्यतिसम्म होला भनेर कसैले कल्पनासमेत गरेका थिएनन्।
पहिलो खेल हार्दा पनि नेपाली खेलाडीप्रति खुसी भएका दर्शकले इटालीसँगको हार भने पचाउन सकेनन्।
लगातार दोस्रो हारसँगै अब नेपाली क्रिकेट टोली लगातार दोस्रोपटक विश्वकपबाट रित्तो हात फर्किने हो कि भन्ने डर बढ्न थालेको छ।
अब नेपाल आइतबार दुईपटकको अर्को विश्व च्याम्पियन टोली वेस्ट इन्डिजसँग खेल्दै छ।
यो प्रतिस्पर्धा पनि निकै चुनौतीपूर्ण हुने संकेत नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट लले गरिसकेका छन्।
अघिल्लो दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘इटालीविरुद्धको खेल वास्तवमै निराशाजनक रह्यो। इङ्ग्ल्यान्डविरुद्ध पहिलो खेलमा जसरी खेलेका थियौँ, त्यसको ठिक विपरीत रह्यो। त्यस हारमा माफी दिन सकिन्न। वेस्ट इन्डिजको सामना गर्दा हाम्रो टिमबाट कुनै प्रकारको भुल स्वीकार्य हुने छैन।’
यता नेपाली दर्शकलाई भने अब नेपाली टोलीले जित्ला कि नजित्ला भन्दा पनि कसरी खेल्ला भन्ने चिन्ता छ। कम्तीमा इटालीसँगको खेलमा भन्दा राम्रो प्रदर्शन नेपालले गरोस् भन्ने कामना दर्शकले गरेका छन्।
हारे पनि कम्तीमा इङ्ग्ल्यान्ड्ससँगको खेलमा जस्तो प्रशंसा गर्नलायक प्रदर्शन नेपाली खेलाडीले गरून् भन्ने अपेक्षा समर्थकको छ।
समूह सीमा रहेको वेस्ट इन्डिज आफ्नो समूहमा सबैभन्दा सन्तुलित प्रदर्शन गर्ने टोलीका रूपमा छ।
पहिलो प्रतिस्पर्धामा स्टकल्यान्डलाई हराएको उसले अर्को खेलमा इङ्ग्ल्यान्डलाई हराएर सुपर एटको सम्भावना बलियो बनाइसकेको छ।
नेपाललाई पनि जितेको खण्डमा वेस्ट इन्डिज एक खेलअगावै सुपर एटमा प्रवेश गर्ने सम्भावना छ। यसकारण पनि वेस्ट इन्डिजले आइतबार नेपालसँग हुने भिडन्तलाई सामान्य ठान्ने छैन।
त्यसमाथि केही महिनाअघि मात्र यूएईमा भएको ३ खेलको टी-२० सिरिजमा वेस्ट इन्डिज नेपालसँगै २–१ ले हारेको थियो।
त्यसबेला वेस्ट इन्डिज टोलीका कप्तान रहेका अकिल हुेसन र जेसन होल्डर पनि आइतबार नेपालसँग हुने प्रतिस्पर्धामा सहभागी हुँदै छन्।
उनीहरू नेपाली खेलाडीका विषयमा जानकार छन्। नेपालले अहिलेसम्म टी-२० मा हराएको एक मात्र टेस्ट राष्ट्र हो- वेस्ट इन्डिज। त्यसैले पनि वेस्ट इन्डिजले नेपाललाई हल्का रूपमा नलिने निश्चित छ।
अर्कातर्फ नेपाल आइतबारको खेलमा पराजित भए लगातार दोस्रोपटक विश्वकपमा जितविहीन भएर फर्किनुपर्ने अवस्थाको नजिकै पुग्नेछ। किनकि लगातार दोस्रो खेल हारिसकेको नेपाल अब बाँकी २ खेलमा पनि हार्यो भने यसपटक पनि विश्वकपमा जित शून्य बनेर फर्किनुपर्नेछ।
यसर्थ त्यस्तो दयनीय अवस्था आउन नदिन र विश्व क्रिकेटलाई सन्देश दिन पनि नेपाली क्रिकेट टोली बाँकी खेल जित्नैपर्ने दबाबमा छ।
अहिले नेपाल लगातार दोस्रोपटक र तेस्रो विश्वकप क्रिकेट खेलिरहेको छ।
नेपाल पहिलोपटक सन् २०१४ मा विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी भएको थियो। बंगलादेशमा भएको त्यो विश्वकपमा नेपालले हङकङलाई ८० र अफगानिस्तानलाई ९ रनले हराएको थियो।
हाल नेपाल क्रिकेट संघ (क्यान) का सचिव रहेका पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपाललाई फेरि विश्वकप खेल्न एक दशक नै लाग्यो।
सन् २०२४ मा दोसोपटक विश्वकप खेल्दा भने नेपाल सबै खेल हार्दै समूह चरणबाटै बाहिरिएको थियो। त्यतिबेला नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदल्यान्ड्स रहेको समूह डीमा थियो।
समूह चरणका तीन खेलमा हार र एकमा अंक बाँडेको नेपालले दोस्रोपटकको विश्वकप मात्र १ अंक हासिल गर्दै तालिकाको पुछारमा रहेर सकाएको थियो।
अहिले नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले हार्दा त्यसबेला दक्षिण अफ्रिकासँग १ रनले हारेको स्मरण गराएको छ।
यद्यपि नेपाल इङ्ग्ल्यान्डसँग हारे पनि नेपाली दर्शकले त्यसलाई जित बराबर नै ठानेका थिए।
तर इटालीसँग अकल्पनीय तरिकाले हारेपछि नेपाली दर्शक निकै निराश भएका छन्।
सामाजिक सञ्जालमा खेलाडीको भूमिकामै प्रश्न उठाइएका छन्। ट्रोल बनाइएका छन्।
अब बाँकी खेल जित्दै नेपालले आलोचना र हारको शृंखला रोक्न सक्ला कि नसक्ला, व्यग्र प्रतीक्षाको विषय बनेको छ।
क्यानले खेलाडीका लागि गरिरहेको लगानी बालुवामा पानी हुन नदिन पनि नेपाली क्रिकेट टोलीले आगामी २ खेल जित्ने अठोटका साथ अगाडि बढ्नुपर्ने हुन्छ।
त्यसो त विश्वकपमा लगातार दोस्रो र जारी प्रतियोगितामा तेस्रो हार हुन नदिन नेपाली क्रिकेट टोली यतिबेला मुम्बईको वानखडे रंगशालामा संघर्षरत छ।
निराश समर्थकको मुहारमा खुसी फर्काउन नेपाली खेलाडीहरूले वेस्ट इन्डिजसँग खेल्नुअघि शनिबार वानखडेमा अभ्यासलाई तीव्रता दिएका छन्।

नेपाली क्रिकेटप्रेमीको चाहना छ- यसपटक पनि नेपाल कम्तीमा खाली हात नफर्कियोस्।
Shares

प्रतिक्रिया