नेपाल क्रिकेट संघ (क्यान) ले तल्लो मूलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने भएको छ।
क्यानको आज सोमबार बसेको बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको करार सम्झौता समाप्त हुन लागेकाले सम्झौता नवीकरणका लागि तथा तल्लो मुलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
क्यानले त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदान, कीर्तिपुरको करार सम्झौता अवधि समाप्त हुन लागेको र उक्त खेल मैदानलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्दै अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशालाको पहिलो चरणको काम सम्पन्न भइ फ्लड लाइट समेत जडान भएको र उक्त मैदान नेपाली क्रिकेट खेलको विकासको लागि अपरिहार्य रहेको हुँदा त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानको करार सम्झौता अवधि थपका लागि तथा हाल राष्ट्रिय खेलकुद परिषद मातहत संचालनमा रहेको तल्लो मूलपानी क्रिकेट मैदान यस संघलाई हस्तान्तरण गरिदिनका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको हो।
यस्तै, क्यानले सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गर्ने निर्णय गरेको छ। क्यानको वार्षिक साधारण सभा २०८३ साल बैशाख २७ र २८ गते कोसी प्रदेशको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ।
४ वर्षे पदावधि समाप्त भएका क्यानका २० जिल्लाहरुको कार्यकाल जेठ मसान्तसम्म थप गर्ने निर्णय क्यानले गरेको छ। सो जिल्लाहरुले विराटनगरमा आयोजना गरिने वार्षिक साधारण सभा सम्पन्न भएपश्चात २०८३ जेठ मसान्तभित्र निर्वाचन सम्पन्न गर्ने मिति तय गरि क्यानमा जानकारी गराएपश्चात जेठ मसान्तभित्र अनिवार्य रुपमा निर्वाचन सम्पन्न गर्नका लागि संघबाट पत्रचार गर्ने निर्णय गरेको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
क्यानले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा ४७ करोड ३६ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको जनाएको छ।
आईसीसी फन्डिङ निदेर्शन बमोजिम आइसीसीबाट संघलाई वार्षिक रुपमा प्राप्त हुने बजेटबाट महिला क्रिकेट खेलको विकासमा लागि ५ लाख अमेरिकी डलर लगानी गर्नुपर्ने भएकाले यो वर्षदेखि समग्र महिला क्रिकेटको विकासका लागि ५ लाख डलर लगानीको व्यवस्था गर्ने निर्णय गरेको छ।

Shares

प्रतिक्रिया