नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा २५औँ आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स विधामा खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजक महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए। कूल ३३ स्वर्ण, ३३ रजत र ६६ कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।
दुईदिने प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफका ३०० खेलाडीको सहभागिता रहनेछ। दुईदिने राष्ट्रिय प्रतियोगिताकै दौरान दोस्रो यु–१५ राष्ट्रिय विद्यालय आइटिएफ तेक्वान्दो प्रतियोगिता पनि हुनेछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा एक सय पचास खेलाडीले २० स्वर्ण, २० रजत र ४० कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। रासस

प्रतिक्रिया