एसोसिएट क्रिकेटमा नेपाल र यूएईबीचको खेल ‘एल क्लासिको’ भिडन्तले परिचित छ।
यी दुईबीचको भिडन्त रोमाञ्चक हुने गर्छ। त्यसैले घरेलु होस् वा विपक्षी टोलीको मैदान। खेल हेर्न दर्शकको उत्साहपूर्ण सहभागिता हुने गर्छ।
फेरि एकपटक नेपाली क्रिकेट समर्थकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल हेर्न पाउने भएका छन्।
नेपाल र यूएईबीचको खेल सोमबार साँझ ५ बजे सुरु हुनेछ।
यूएईविरुद्ध दुई खेलको टी–२० आई सिरिजका लागि ७ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ। नेपाल र यूएईबीचको खेल सोमबार र मंगलबार हुनेछ।
सोमबार साँझ घरेलु टोली नेपाल यूएईविरुद्ध मैदान उत्रिँदा नेपालका लागि त्यो ऐतिहासिक खेल हुनेछ। त्यसका मुख्य दुई कारण छन्, पहिलो नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ। दोस्रो, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिपछि फ्लडलाइट र प्यारापिटमा पुरुष टोलीको पहिलो खेल हुन लागेको हो।

नेपाली टोलीले पछिल्लो पटक सन् २०२४ को मार्चमा नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज खेलेको थियो। नेपाल र यूएई भने सन् २०२३ मा भेट भएका थिए।
टीयू मैदानको स्तरोन्नतिपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल भइसकेका छन्। तर फ्लडलाइटमा पहिलो अन्तर्राष्ट्रिय खेल हुन लागेको हो।
यसअघि यो मैदानमा नेपाल प्रिमियर लिग र महिला टोलीले विश्वकपको ग्लोबल छनोट खेलिसकेको छ। तर पुरुष टोलीले पहिलो पटक खेल्न लागेका हुन्।
दर्शकको समय र गर्मीको मौसमलाई ध्यानमा राख्दै नेपाल क्रिकेट संघले साँझको समयमा फ्लडलाइटमा खेल आयोजना गर्न लागेको हो।
यूएईविरुद्धको टी–२० खेलका लागि टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। क्यानले टी–२० र ओडीआईका लागि दुई फरक कप्तान चयन गरेको छ।
क्यानले एक दिवसीय क्रिकेटको कप्तानी जिम्मेवारी नियमित कप्तान रोहित पौडेललाई नै जिम्मा दिएको छ। टी–२० को कप्तान भने ऐरीलाई तोकेको छ।
यूएईविरुद्धको खेलका लागि नियमित कप्तान रोहित पौडेलसहित तीव्र गतिका बलर सोमपाल कामी र करण केसी टोलीबाट बाहिर छन्।

यस्तो छ हेड टु हेड
नेपाल र यूएईबीच अहिलेसम्म ११ पटक आमनेसामने भएका छन्। यी भेटमा ६ खेलमा नेपालले जित हात पारेको छ। पाँच खेलको नतिजा भने यूएईले आफ्नो पक्षमा पारेको छ।
नेपाल र यूएईबीच पछिल्लो पटक अक्टोबर २०२५ मा भेट भएको थियो। यूएई, हङकङ र नेपाल सहभागी टी–२० आई सिरिज भेट भएका थिए। टीयू मैदानमा भएको सिरिजको फाइनलमा नेपाली टोली यूएईसँग ४ विकेटले पराजित भएको थियो।
सन् २०१९ मा नेपाल र यूएई टी–२० आईमा पहिलो पटक भेट भएका थिए। सो खेलमा नेपालले यूएईलाई २१ रनले हराएको थियो।
दीपेन्द्रको कप्तानीमा नेपाली टोली
दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल
Shares

प्रतिक्रिया