खेल


ओमानसँग नेपाल १ सय २ रनले पराजित

ओमानसँग नेपाल १ सय २ रनले पराजित

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १६:५०, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल ओमानसँग डीएल मेथडमा पराजित भएको हो। 

बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल मेथडमा १ सय २ रनले पराजित भएको हो। 

जारी सिरिजमा नेपालले पहिलो हार व्यहोरेको हो। ओमानले भने पहिलो जित दर्ता गरेको हो। नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो। ओमान भने पहिलो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो। 

ओमानले दिएको ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाले खेल पुनः सुरु हुन नसकेपछि नेपालले जारी सिरिजमा पहिलो हार व्यहोरेको हो। 

गुल्सन झा १४ र सोमपाल कामी २ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरि ६० रन बनाउँदै पेभेलियन फर्के। भिम सार्की २८ रनमा आउट भए। रोहित पौडेलले १०, आरिफ शेखले १४ रन थपे। 

ओपनर कुशल भुर्तेल १ रन बनाउँदा एलबीडब्लु धरापमा परे। आशिफ शेख १९ रनमा क्याच आउट हुन पुगे। 

रोहित कुमार पौडेल १० रन बनाउँदा नदीम खानको बलमा बोल्डआउट भए। १ रन बनाएका बसिर अहमद पनि नदिम कै बलमा आउट हुन पुगे। 

ओमानका लागि नदिम खानले ३ विकेट लिए। सकिल अहमदले २ विकेट लिए। मुहम्मद इमरान र वसिम अलीले समान १ विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रनको योगफल तयार पारेको थियो। 

ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक १ सय ३० रनको योगदान दिए। उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गरे। जतिन्दरले ७३ बलमा १३ चौका र ४ छक्का सहयोगमा शतक पूरा गरे।

४८ बलमा १ चौका र १ छक्का सहयोगमा ४८ रन बनाएका अशिष ओडेरा सन्दीप लामिछानेको बलमा आउट भए। सन्दीपले १५ औँ ओभरको दोस्रो बलमा अशिषलाई पेभेलियनको बाटो देखाए। 

आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रन थपे। 

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए। 

सिरिजको तेस्रो खेलमा नेपालले पर्सि शुक्रबार युएईसँग पुनः खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad